केराबारी/ पूर्व–पश्चिम राजमार्गको समानान्तर हुने गरी सरकारले ६ जेठ २०७५ मा गरेको मदन भण्डारी राजमार्ग बनाउने निर्णयको कार्यान्वयन जारी छ । यसै अनुरुप चुरे क्षेत्रको ‘लाइफलाइन’को रुपमा रहेको मदन भण्डारी राजमार्गको धरान–झापा खण्डअन्तर्गत करिब १२५ किलोमिटर सडकको ठेक्का लागेको छ ।

चतरादेखि झापाको मेचीनगरस्थित मेचीडाँगीसम्म निर्माण हुने मदन भण्डारी राजमार्गअन्तर्गत धरान–झापा खण्डमध्ये धरानदेखि झापाको दमकस्थित बेलडाँगीसम्म ५३ किलोमिटर र मेचीडाँगीदेखि पश्चिम शान्तिपुरसम्म १० किलोमिटर निर्माणको प्रक्रिया पनि शुरु भएको हो ।

बेलडाँगी–शान्तिनगर खण्डको भने डीपीआर तयारीको काम पनि सकिएको छैन । १६ फागुन २०७७ मा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दमक र चुलाचुली जोड्ने रतुवा पुलबाट राजमार्गको दुई खण्डमा पर्ने ३१ वटा पुलको एकैसाथ शिलान्यास गर्नुभएको थियो।

झापाको बेलडाँगी–शान्तिनगर खण्डको भने डीपीआर तयार नभएकाले सडक कति किलोमिटर हुने र कतिवटा पुल बन्ने भन्ने टुंगो नलागेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख श्याम यादवले बताउनुभएको छ ।

आँफुहरु भन्दा माथिल्लो निकायले डीपीआर तयार पार्ने भन्दै प्रमुख यादवले यो बीचको डीपीआर तयार नभएसम्म धरान–झापा खण्ड कति किलोमिटर छ, कतिवटा पुल चाहिन्छ भन्ने नटुंगिएको बताउनुभयो। उहाँले डीपीआरको काम सकिएको जानकारी पाएको भन्दै यसको पनि चाँडै टुंगो लाग्ने बताउनुभयो।

धरान–झापा खण्डअन्तगर्त धरानदेखि बेलडाँगीसम्म दुई खण्डमा सडक निर्माणको ठेक्का लगाइएको छ । पहिलो खण्ड धरानदेखि केराबारी गाउापालिकाको भलुवा खोला र दोश्रो खण्ड भलुवा खोलादेखि झापाको बेलडाँगीसम्म छ । यी दुई खण्डको गत २९ असारमा निर्माण सम्झौता भएको हो । यो सडक ३० महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने कार्यालय प्रमुख यादवले बताउनुभयो ।

धरानदेखि भलुवा खोलासम्मको करिब २५ किलोमिटर खण्ड ९३ करोड ३३ लाख रुपैयाँमा र भलुवा खोलादेखि बेलडाँगीसम्मको करिब २८किलोमिटर सडक एक अर्ब चार करोड रुपैयाँमा ठेक्का लागेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । 

यस्तै, मेचीडाँगी–शान्तिनगरको १० किलोमिटर सडक भने दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । यो खण्ड भ्याटसहित ३७ करोड ९५ लाख रुपैयाँमा निर्माण कार्य शुरु भएको छ । यी तीनै खण्ड निर्माणको काम श्रेष्ठ–मोतीदान जेभीले ठेक्कामा लिएको यादवले बताउनुभयो।

यादवले फिल्डमा सर्भेको काम शुरु भएको भन्दै बर्खा सकिएपछि निर्माणको काम नै शुरु हुने बताउनुभयो । उहाँले मेचीडाँगी–शान्तिपुर क्षेत्रमा त केही काम शुरु पनि भईसकेको बताउनुभयो । ३१ वटा पुलको काम पनि धमाधम भईरहेको यादवको भनाई छ ।

निर्माणको काम शुरु भएपछि स्थानीयले जीवनस्तर उक्सिने आशा गरेका छन् । बिकासको दृष्टिकोणले पछि परेको चुरे क्षेत्रका बासिन्दा सडक निर्माणले चुरे क्षेत्रकै मुहार फेरिने बताउँछन् ।