बिराटनगर/ बिराटनगर महानगरपालिका –५ पृथ्वी चोकमा बसोबास गर्ने भोला सिंह र साजन सिंह नाताले दाजुभाई हुन्। ४२ बर्षीय भोला राष्ट्रिय अनुसन्धान बिभागमा खोटाङ्गमा हवल्दार पदमा कार्यरत थिए भने ३१बर्षीय साजन घरमा नै बस्ने अनि लागुऔषधको दुब्र्यसनमा फसेका थिए।

सिंह दाजुभाईको पारिवारिक बिषयलाई लिएर बिवाद भएको थियो। शुक्रबार राति पनि साजन मदिरा सेवन गरेर घर पुगेका थिए। चार तले घरमा दाजुभाई भुईतलामा नै बस्दै आएका थिए। मदिरा सेवन गरेर ९बजेतिर घर आएका साजनले केही महिना अगाडि सम्बन्धबिच्छेद गरेकी पूर्व श्रीमतीलाई देखेपछि बिवाद गर्न थाले।

नशालु पदार्थ सेवन गरेर दैनिक जसो श्रीमतीलाई कुटपिट गरेपछि आजित भएकी साजनकी श्रीमतिसँग सम्बन्धबिच्छेद भएको थियो। साजनसँग सम्बन्धविच्छेद भएपनि उनकी पूर्व श्रीमतीको परिवारका अन्य सदस्यको संरक्षणमा थिइन्। आफूसँग सम्बन्ध तोडिसकेकी पूर्व श्रीमतीलाई घरमै संरक्षण दिएर राखेको भन्दै साजनले परिवारसँग झगडा शुरु गरेका थिए।

नशामा लठ्ठिएका साजनले कोठाका फर्निचर तोडफोड गरेपछि भोला र उनकी श्रीमतिले सम्झाइ बुझाई गरेका थिए। सम्झाउँदा पनि नभएपछि अझ उग्र भएर कोठाको सरसमान तोडफोड गरेपछि भोलाले भाईलाई कुटपिट गरेर बाटोतिर गएका भोला घरको माहौल शान्त भयो भन्ने ठानेर सुत्न भनि राति राति साढे १० बजेतिर आफ्नो कोठामा छिरेका थिए, नशाले लठ्ठिएका साजनले चक्कुले भोलाको घाँटी, हात र टाउकामा प्रहार गरेको र चोटका कारण भोला त्यही ढलेको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन्।

bhola
मृतक भोला सिंह/ तस्विर : मृतकको फेसबुकबाट

गम्भिर घाइते भएका भोलालाई प्रहरीले उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम पुर्‍याएको थियो। अस्पताल पुर्‍याइएका भोलालाई ११बजेतिर चिकित्सकले मृत घोषित गरेको थियो। चक्कु प्रहारबाट भोलाको घाँटीको दाँया भाग, टाउको र देब्रे पातोमा गहिरो चोट लागेको थियो।

भोलालाई चक्कु प्रहार गरेपछि साजन आफ्नै घरको माथिल्लो तलामा गएर बाथरुममा बसेका थिए। साजनलाई वडा प्रहरी कार्यालय बिराटनगर ‘क’ र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति नै नियन्त्रणमा लिएको थियो।

राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका सूचक रहेका भोला एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए। आमा बिरामी रहेको थाहा पाएपछि तालिम सकेर बैशाखमा बिराटनगरस्थित घर आएका थिए। राष्ट्रिय अनुसन्धान बिभागमा एक दशक अघि भर्ना भएका भोलाका श्रीमती र १५बर्षीय र ११बर्षीय दुईजना छोरा छन्।

लागूऔषध दुव्र्यसनी साजनलाई बिभिन्न आपराधिक घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले धेरैपटक पक्राउ गरेर कारबाही गरिसकेको थियो। सहोदर दाजुको हत्यामा संलग्न साजनबिरुद्ध कर्तव्य ज्यान मुद्दा अन्तरगत कारबाही गरिने मोरङ प्रहरीले जनाएको छ।

ब्लाष्ट खबरको सहयोगमा