धरान/ सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाइन ओपिडी सञ्चालन गरेको छ। प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनले तीन दिनदेखि अनलाइन ओपिडी सेवा दिन थालेको हो।

अस्पतालका डाक्टर सञ्जीवकुमार शर्माका अनुसार लकडाउन वा निषेधाज्ञाको समयमा बिरामीहरू अस्पतालसम्म आउन नसक्ने हुनाले अनलाइन एपमार्फत् उनीहरूको सेवा गर्न थालिएको हो। अस्पतालले ९८०२७९४७३७ मा सम्पर्क गरेर नाम टिपाउन भनेको छ। लकडाउनका बेला जुनसुकै रोगका बिरामीले पनि यो नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सक्ने छन्।

'वर्तमान कोरोना महामरीको गाम्भीर्यतालाई मध्यनजर गर्दै बिपी केएजआईएस धरानको डिपार्टमेन्ट अफ मेडिसिनद्वारा सञ्चालित टेलीमेडिसिन कार्यक्रममार्फत् मुटु, मिर्गौला, प्रेसर, सुगर, फोक्सो, बाथसँगै कोरोनासम्बन्धी जानकारी सुझाव प्राप्त गर्नका लागि डाक्टर एवम् प्राविधिकहरूसँग सिधै आफ्ना समस्या राख्न तलको नम्बरमा ह्वाट्सअप, भाइबर, इमो वा फेसबुकमा सम्पर्क गर्न अनुरोध गर्दछौं,' उक्त विभागले गरेको सर्वजनिक सूचनामा उल्लेख छ।

शर्माका अनुसार मानिसहरूले आफूलाई कुनै पनि स्वास्थ्य समस्या आए उल्लेखित नम्बरमा फोन गरेर नम्बर टिपाउन सक्ने छन्। त्यसरी नम्बर टिप्न एकजना नर्स र अर्का कर्मचारी खटाइएको शर्माले बताए।

उनीहरूले बिरामीका समस्या सुन्छन् त्यसपछि सम्बन्धित डाक्टरको समय मिलाइदिन्छन्। आफूलाई तोकिएको समयमा बिरामीले आफ्ना समस्या पहिलेका रिपोर्ट अनलाइनमै देखाउन सक्छन्।

'कोरोनाका कारण अरू समस्या भएका बिरामी अप्ठेरोमा परे उनीहरूको समस्या समाधान गर्न पोहोर साल पनि हामीले यस्तै सेवा (टेलिमेडिसिन सेवा) गरेका थियौं। यसलाई अनलाइन ओपिडी सेवा भने पनि हुन्छ,' डाक्टर शर्माले भने, 'यसपालि पनि लकडाउन भएपछि बिरामीलाई समस्या हुने देखेर यो सेवा सुरू गरेका हौं।'उनका अनुसार यो सेवा लिँदा कुनै पनि प्रकारको शुल्क लाग्दैन।

-सेतोपाटी