इटहरी/ २०७५ साल श्रावण ९ गते राति करिव साढे दश बजेतिर इटहरी १० खनारमा ३२ बर्षीय कृष्ण ढकाललाई तीनजना मिलेर निर्घात कुटपिट भयो। कुटपिटबाट सख्त घाईते भएका ढकालको उपचारका क्रममा ज्यान गएको थियो।

त्यतिबेला ढकाललाई कुटपिट गर्नमा संलग्न थिए, इटहरी १० का प्रकाश ढकाल, ३५बर्षीय सुवास चौधरी र सोही ठाउँका २५बर्षीय बिजय थापा भनिने मदन थापा। घटनापश्चात कुटपिटमा संलग्न ढकाल, चौधरी र थापा फरार थिए।

कृष्णको ज्यान गएपछि मृतकको तर्फबाट सुनसरीको धरान ८ बस्ने दिब्या कार्कीले कुटपिटमा संलग्नहरुबिरुद्ध किटानी जाहेरी दर्ता गराउनुभएको थियो। सोहि किटानी जाहेरीका आधारमा चौधरी, थापा र ढकाल माथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

भारतीय प्रहरीको समन्वयमा थियो इटहरी प्रहरी
कृष्णको ज्यान गएको मितिदेखि फरार मध्य सुवास र मदन भारतको नयाँदिल्लीमा गएर बसेका थिए। इटहरी प्रहरीले उनिहरु भारतमा रहेको सुइँको पाएपछि भारतीय प्रहरीसँग सहकार्य गरिरहेको थियो।

इटहरी प्रहरीले थापा र चौधरीको फोटो र अन्य बिवरण भारतीय प्रहरीलाई उपलब्ध गराएर खोजी गरिरहेको थियो।

चैत्र १५ मा आत्मसमर्पण
कृष्णलाई कुटपिट गरेर घाईते बनाएका थापा र चौधरी कृष्णको मृत्य भएपछि भागेर भारत पुगेका थिए। उनिहरुले चैत्र १५ गते आईतबार इलाका प्रहरी कार्यालय इटहरीमा आएर आत्मसमर्पण गरेका प्रनाउ केसीले बताउनुभयो।

आत्मसमर्पण गरेका थापा र चौधरीमाथि कर्तव्य ज्यान अभियोगमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको इटहरी प्रहरीले जनाएको छ।
आत्मसमर्पण गरेकाहरुलाई आत्र्मसमर्पणपछि सजायमा छुट हुने कानुनी ब्यवस्था रहेको छ।

प्रकाश ढकाल अझै फरार
कृष्णलाई कुटपिट गर्नमा संलग्न प्रकाश ढकाल भने हालसम्म फरार रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। ढकालको खोजि जारी रहेको इटहरी प्रहरीले जनाएको छ।