सुनसरी/ नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आउने भएको छ। सरकारसँग बिहिबार सहमति गर्दै शान्तिपूर्ण राजनितीमा आउने भएको हो।

सरकारले यो समूहमाथिको प्रतिबन्ध हटाउने भएको छ। सरकारले आजै बिप्लव कार्यकर्तालाई धरपकड नगर्न निर्देशन दिईसकेको छ।

बार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा र बिप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। barta 2

सम्पूर्ण बन्दी रिहाई गरिने
सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी गर्ने सहमति भएको छ। बिप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान सम्बादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो।

यस्तो छ सहमति
सरकार र बिप्लव समुहबीच भएको सहमति अनुसार बार्ताबाट राजनीतिक बिषयको समाधान वार्ताबाट गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने, फागुन २१ गते बिशेष समारोहका बीच प्रधानमन्त्री केपी ओली र बिप्लवले संयुक्त रुपमा सम्वोधन गर्ने, सार्वजनिक हुने, एउटै मञ्चबाट प्रधानमन्त्री ओलीसँग सम्वोधन गर्ने सहमति भएको छ। Government-biplap

सरकार र बिप्लव समूहबीच भएको सहमतिलाई बिभिन्न दलका नेताहरुले सकारात्मक रुपमा लिएका छन्।

प्रधानमन्त्री र चन्दले एउटै मञ्चबाट सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रबिक्रम चन्द ‘बिप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने हुनुभएको छ। फागुन २१ गते दिउँसो २ बजे बिशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्दले सम्बोधन गर्न लाग्नुभएको हो।

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले राष्ट्रिय सभागृहमा बिशेष समारोह हुने र सोही समारोहबाट सहमतिको बिस्तृत बिवरण सार्वजनिक बताउनुभयो।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर बिश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको। प्रेस नोटमा सरकार र बिप्लव समूहबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ। साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।

हत्या हिंसामा लागेको भन्दै सरकारले बिप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो।

तस्विरहरु : राजन भट्टराईको फेसबुकबाट