सुनसरी/ इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले दल बिशेषमा हुने राजनीतिक बिग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताउनुभएको छ। मंगलबार(आज) इटहरी वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले यसो भन्नुभएको हो।

उहाँले आफ्नो उपस्थिति कुनै समूहको भेला र बैठकमा नभएको भन्दै सम्पूर्ण ध्यान इटहरीको बिकासमा लगाएकाले युद्धस्तर बिकास भईरहेको जानकारी दिनुभयो। इटहरीको बिकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको अपेक्षा गर्नुभयो। मेयर चौधरीले वडा कार्यालय बनाउदा निमार्णको गुणस्तरमा कुनैपनि सम्झौता नहुने र तोकिएको समयमा काम सक्नुपर्ने बताउनुभयो।

कार्यक्रममा वडा नम्बर ९का अध्यक्ष भूपेन्द्र बरालले वडा कार्यलय भवन निर्माण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो।

जिल्ला समन्वय समितका सदस्य चिरञ्जिवी बस्नेतले भवन निर्माण समयमै सक्न निर्देशन दिनुभयो। ७२ लाख २९हजार रुपैँया लागतमा बन्ने वडा कार्यालयका लागि समन्वय समितिको ५० प्रतिशत र बाँकी उपमहानगरको रहने वडा सदस्य गणेश केसीले जानकारी दिनुभयो।