सुनसरी/ सोलुखुम्बुमा बा ४ ख ७९८० नम्बरको ट्रिपर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। एकजना गम्भिर घाइते छन्। सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने ट्रिपर दुर्घटना भएको हो।

गएराति ११ बजेतिर भएको दुर्घटनामा ट्रिपर चालक धादिङको थाक्रे गाउँपालिकाका करिव ३२बर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९बर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै ज्यान गएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

accdent
दुर्घटनापछि उद्दार गर्दै प्रहरी, तस्विर सौजन्य : ट्राफिक प्रहरी

दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ बर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्। उनलाई सडकबाट करिव एक सय मिटर तल भेटिएको ट्रिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

चालकबाहेक मृत्यु भएका दुईजना र घाइते भएका एकजना हाइड्रोपारका कामदार भएको प्रहरीले जनाएको छ। ८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको ट्रिपर दुर्घटनामा परेको हो।