सुनसरी/ नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविद्ले अनुमान गरेका छन्। पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन बाहिरि नसकेकोले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने मौसमविद्ले बताएका हुन्।

आज(आईतबार) पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्ने भन्दै गएको मंगलबारदेखि देशभरि नै पानी पारेको प्रणाली कमजोर हुँदै गएकाले आज पूर्व बाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठले आईतबार प्रदेश १ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशका थोरै ठाउँमा बेलुकीतिर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताउनुभयो।

यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै पानी परेको भन्दै श्रेष्ठले लानेन्या प्रणाली सकृय हुँदा नेपालमा धेरै पानी पर्छ भने एलनिनो प्रणाली चल्दा थोरै पानी पर्ने बताउनुभयो।