काठमाण्डौ/ सरकारले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला काठमाडौं मेडिकल कलेजले गत सोमबारबाट २५ सय मै पीसीआर परीक्षण गर्न थाल्यो। केही साता अघि मात्रै काठमाडौं मेडिकल कलेजको अध्यक्ष बनेका डा.सुनिल शर्माले सरकारले तोकेको भन्दा १९ सय रुपैँया कम शुल्कमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाए । पीसीआर परीक्षणमा यो नेपालकै सबैभन्दा सस्तो शुल्क हो ।

स्वास्थ्य मन्त्रालयले तोकेको भन्दा झण्डै आधा शुल्कमै डा.शर्माले पीसीआर परीक्षण गराउँन थालेपछि मन्त्रालयलाई नैतिक संकट पर्‍यो। डा.शर्मा उही हुन् जो मोरङको क्षेत्र नं.३ मा गत प्रतिनिधि सभा निर्वाचनमा अहिलेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पराजित भएका थिए। ढकालले नेतृत्व गरेको मन्त्रालयले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला ढकालसँगै हारेका डा.शर्माले मन्त्रालयले तोकेको भन्दा १९ सय कम शुल्कमा निजी क्षेत्रबाटै पीसीआर परीक्षण गराउँन थालेका हुन्।

निजी क्षेत्रले २५ सयमै पीसीआर परीक्षण गराउन सक्छ भने सरकारले ४४सय शुल्क तोकेर जनतालाई राहतको सट्टा आहात दिएको भन्दै सरकार र मन्त्री ढकालको आलोचना भएको थियो। बिदेशी दातृ निकायबाट अरबौँको किट निःशुल्क पाउँदा पनि सरकारले निःशुल्क किट उपलब्ध गराएर सहुलियतमा परीक्षण गर्ने बातावरण नमिलाएको भन्दै आलोचना हुने गरेको छ।

यसैबीच स्वास्थ्य मन्त्रालयले पुरानो शुल्क भन्दा २५ सय कम गर्दै आईतबारबाट पीसीआर परीक्षण शुल्क २ हजारमा झारेको छ। डा.शर्माले शुल्क घटाएको एक सातापछि मन्त्रालयले पनि शुल्क घटाउने निर्णय लिएको हो। अव सबै सरकारी तथा निजी प्रयोगशालाले पीसीआर परीक्षण बापत २ हजार भन्दा बढी शुल्क लिन नपाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन्।

यता, सरकार भन्दा पहिले नै शुल्क घटाएर चर्चामा आएका डा.शर्माले पनि शुल्क घटाउने सरकारी निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्। ‘सरकारले पहिले नै शुल्क घटाउनु पथ्र्याे, हामीले थालिसकेपछि सरकारले ढिलै भएपनि जनपक्षीय निर्णय लिएको छ।’ डा.शर्मा भन्छन्-‘जे होस् यो निर्णय स्वागतयोग्य छ।’ सरकार सकारात्मक बनेमा १५ सयमै पीसीआर परीक्षण गराउन सकिने डा.शर्माले बताएका छन्।