केराबारी/ इलाका प्रहरी कार्यालय बेलबारीले बन क्षेत्रबाट नियन्त्रणमा लिएका चारवटा ट्याक्टर सव डिभिजन बन कार्यालय केराबारीलाई बुझाएको छ। प्रहरीले श्रावण १८ गते नियन्त्रणमा लिएका ट्याक्टरहरु बन कार्यालयलाई बुझाएको हो।

प्रहरी नायव निरिक्षक रमेश प्रधान नेतृत्वको प्रहरी टोलीले केराबारी ८ स्थित चारकोशे झाडी वन क्षेत्रबाट अबैधरुपमा खदम खोलामा ढुंगा संकलन गर्दै गरेका को २ त ६७५७ नम्बरको ट्याक्टर ७२ घन फीट ढुंगासहित, को २ त ५८१२ नम्बरको ट्याक्टर १२० घन फीट ढुंगासहित, को २ त ७०७८ नम्बरको ट्याक्टर १२० घन फीट ढुंगासहित र को २ त ७१२५ नम्बरको ट्याक्टर १२० घन फीट ढुंगासहित नियन्त्रणमा लिएको हो।

बन क्षेत्रमा ढुंगा लोड गर्दै गर्दा ४३२ घन फीट ढुंगासहित नियन्त्रणमा लिएका ति ट्याक्टरहरुलाई बन ऐन २०७६ अन्तरगत कसुर ठहरिएको हुँदा बनलाई बुझाएको केराबारी प्रहरीले जनाएको छ।

यसैबीच सव डिभिजन बन कार्यालय केराबारीका प्रमुख बिक्रम अमात्यले प्रहरीले नियन्त्रणमा लिएर आँफुहरुलाई बुझाएका ट्याक्टरहरुको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धान पश्चात संघीय बन ऐन २०७६ अन्तरगत कारबाही गरिने पूर्वी खबरलाई बताउनुभयो।

यस्तै केराबारी प्रहरीले शनिबार पनि अबैध उत्खनन् गरिरहेको एउटा स्काभेटर र एउटा ट्रिपर नियन्त्रणमा लिएको छ। प्रहरीले केराबारी ९स्थित लोहन्द्रा खोलामा को १ क २३८७ नम्बरको स्काभेटर र को १ ख ४७०५ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको हो।

अवैध रुपमा उत्खनन् गरिरहेका स्काभेटर र ट्रिपर स्थानीयको सहयोगमा प्रहरी नायव निरिक्षक दिपक बरालको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका स्काभेटर र ट्रिपर कारबाहीका लागि केराबारी गाउँपालिकामा बुझाईने केराबारी प्रहरीले जनाएको छ।