सुनसरी/ जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार बिहान प्रतिबन्धित माछा नियन्त्रणमा लिएको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो । प्रहरीले समय समयमा गर्ने पत्रकार सम्मेलन भन्दा सोमबार गरिएको पत्रकार सम्मेलन भिन्न थियो। कारण प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सुनसरीका अनुसन्धान उप–निर्देशक समेत सहभागी थिए।

प्रहरीले गर्ने काम कारबाहीको विषयमा औसत यस्ता कार्यक्रममा जिल्लाका प्रजिअ सहभागी हुन्नन्। सोमबार भने प्रहरीले बोलाएको पत्रकार सम्मेलनमा प्रजिअ फडिन्द्रमणी पोखरेल र उप अनुसन्धान निर्देशक तुलसी प्रसाईँ उपस्थित थिए ।

यस्तो छ कारण
जिल्ला प्रहरीको टोलीले भन्सार छलीको आशङ्कामा साउन २ गते इनरुवा ४ बस स्टेण्ड नजिकबाट डब्लुबी २५ जे ६१४१ नम्बरको भारतीय ट्रकमा नेपालमा प्रतिबन्धित ७ हजार ५१० केजी अफ्रिकन माङगुर प्रजातिका माछा नियन्त्रणमा लिएको थियो।

प्रहरी अनुसन्धानले भने उक्त माछा विराटनगर भन्सारबाट ५ हजार ८२० केजीको मात्र प्रज्ञापन पत्र लिइएको थियो। सोही आधारमा भन्सार कर्मचारीको मिलेमतोमा भित्रिएको माछासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि नियम अनुसार नष्ट गर्नको लागि पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

जोगवनी नाका हुँदै आएको सो ट्रकलाई विराटनगर भन्सारले साउन २ गते प्रज्ञापन पत्र र पशु क्वारेनटाइन कार्यालय विराटनगरले पनि सोही दिन प्रमाण पत्र दिएको थियो।सोर्नाली एक्स्पोट कोलकोत्ता मार्फत एसजिआई एग्रो प्रा.लिका सोहनी मियाँले माछा आयात गरेको थियो। आयात गरेको दिन नै विराटनगर महानगरपालिकाको सेवा शुल्क रसिद र राजस्व अनुसन्धान विभागमा १५ लाख ९५ हजारको अनलाइन बिल गरेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको माछा नेपाली बजार मूल्य १५ लाख भन्दा बढीको हुन जान्छ। भारतमा समेत प्रतिबन्धित यो प्रजातिको माछालाई मिलेमतोमा प्रज्ञापन पत्र र क्वारेनटाइनले स्वास्थ्यकर प्रमाण दिएपछि सुनसरी प्रहरीलाई यसको सूचना पुगेको थियो । सोही आधारमा प्रहरीले अनुसन्धान गर्दा उक्त माछा अवैध पुष्टि भएको हो।माछासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि छुटाउन शुक्रवार साँझदेखि एसजिआई एग्रो प्रा.लिका सोहनी मियाँ लागी परेका थिए । मियाँले ट्रक र माछा छुटाउन प्रदेशका केही मन्त्रीदेखि नेकपाका केन्द्रीय नेतासँग लबिङ गरेका थिए।

प्रहरी स्रोतका अनुसार सुनसरीका प्रहरी उपरीक्षक कमल थापालाई धेरै तिरबाट दबाब आएको थियो। उनी आफ्नै प्रहरी सङ्गठनबाट पनि तीव्र दबाबमा परेका थिए। थापालाई सोमबार आयोजना गरिएको पत्रकार सम्मेलन रोक्न पनि उतिकै दबाब थियो । स्रोतका अनुसार जिल्ला प्रहरीका डिएसपी विनोद शर्मा पनि थापा विरुद्ध लागेका थिए। थापासँगै भर्खरै सुनसरी आएका प्रजिअ फडिन्द्रमणी पोखरेललाई पनि दबाब दिएका थिए। जिल्लामा हुने जस्तोसुकै गैरकानुनी क्रियाकलाप विरुद्ध प्रहरी र प्रशासन एक भएर उभिने र दबाबमा केही पनि काम नगर्ने उद्घोष गरेका दुवै प्रमुख पत्रकार सम्मेलनमा सहभागी भएका थिए।

Mcha

यता पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १८ एवं पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को दफा १७ बमोजिम गुणस्तर तथा मापदण्ड सम्बन्धी व्यवस्थाको विपरीत भएकाले माछा नियन्त्रणमा लिइएको एसपी थापाले बताए।

नियन्त्रणमा लिएको माछा पशु क्वारेनटाइन चेक पोस्ट भाण्टावारी परीक्षणको लागि पठाएकोमा त्यहाँबाट माछा नष्ट गरी दिनु भने बमोजिम नष्ट गरिएको थापाले बताए । माछा नष्ट गरी ट्रक र चालकलाई कानुन अनुसारका कारबाही अगाडि बढाउने समेत प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

जिउँदो अफ्रिकन माङगुर माछा नेपालमा आयात गर्न मिल्दैन ।’ थापाले भने ‘ कसरी आयात भयो अनुसन्धानकै विषय हो।’ भन्सार प्रज्ञापन पत्रमा खाने प्रयोजनका लागि आयात गरिएको उल्लेख छ । तर केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रले जिउँदो क्याट फिसलाई आयात अनुमति दिएको छैन।

‘क्याट फिसलाई नेपालमा ल्याउन हामीले अनुमति दिएको छैन।’ केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रका निर्देशक प्रमोदकुमार रिजालले भने ‘ यो माछा पाल्नका लागि पनि सिफारिस गरेका छैनौँ ।’ पाल्नका लागि सिफारिस नगरेको माछा जिउँदो भित्र्याउन नमिल्ने उनको दाबी छ। पाल्नका लागि सिफारिस नगरेको माछा जिउँदो रूपमा ल्याउन नमिल्ने उनको भनाई छ। ‘खानाका लागि ल्याउने हो फ्रोजन (फ्रिजमा राखेर) गरी ल्याउनु पर्ने हो।’ उनले भने ‘ जिउँदो माछा ल्याउन मिल्दैन।

नियन्त्रणमा लिएको माछा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर गर्ने भएका कारण नियन्त्रणमा लिएर नष्ट गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए। यता भन्सारबाट जाँच पास गरी भित्रिएको प्रतिबन्धित माछा प्रहरीले नष्ट गरे पनि विराटनगर भन्सार कार्यालय प्रमुख शिव भण्डारी माछा आयातमा प्रतिबन्ध नभएको बताउँछन् । भन्सारले जाँच पास गरी भित्र्याएको माछा प्रहरीले नष्ट गर्न नमिल्ने उनी बताउँछन्।

Truck

माछाको तौलको विषयमा भने कार्यालय जिम्मेवार नहुने उनको भनाई छ। ‘क्याट फिस विराटनगरका लागि भनेर भित्रिएको हो।’ उनले भने ‘माछा सुनसरीमा समातिएको रहेछ । बाहिर अरू माछा थप गरेका पनि हुन सक्छन्।’भण्डारीले भन्सार कार्यालयबाट कमजोरी नभएको दाबी गरे।

प्रतिबन्धित माछा
माङगुर माछा मांसाहारी भएको र यसले पर्यावरणमा असर पार्न सक्ने भएको यस्तो जीवित माछाको खरिद बिक्री प्रतिबन्धित छ। यस्तो खोला तथा पोखरीमा राखेर पाल्दा उसले त्यहाँका अन्य जीव खाने भएकाले जीवित माछा बेच्न प्रतिबन्धित छ। अर्कोतर्फ यस्तो माछाको सेवनले स्वास्थ्यमा समेत असर पर्ने भन्दै नेपालमा आयात प्रतिबन्धित छ। फोहोर खुवाएर हुकाईने भएकाले यस्तो माछा स्वास्थ्यका लागि हानिकारक रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन्। मगुर माछा सस्तो हुने भएकाले आयात र बिक्री वितरण बढेको हो।

-अपराध न्युज