महेश सिंह–सिरहा/ सिरहाको लहान नगरपालिका–१ मर्टियर्वाका १९बर्षीय रोशनकुमार रामको हत्या भएको छ। साथीसँग लिएको एकहजार रुपैँयाका कारण रोशनको ज्यान गएको हो।

लागुपदार्थ मुद्दामा पक्राउ परेका रामले धरौटीको लागि १०हजार रुपैयाँ तिर्न नसक्दा असार पहिलो साता पुर्पक्षका लागि जेल चलान भएका थिए। धरौटीका लागि अपुग एक हजार रुपैँया उनले कैदी साथी जयकुमार यादवसँग सापटी लिएका थिए। सोहि सापटी रकम नै उनको मृत्युको कारण बन्न पुग्यो।

दश हजार तिरेर छुटेपछि जयकुमारले रोशनलाई घुम्न जाऔँ भन्दै लगेको र सोको चार दिनपछि उनको शव ३० असारमा मिर्चैया–९ बताहा खोला पुलनजिक गमहरिया महेशपुर जाने बाटोको डिलमुनि काँसघारीको पानी जमेको खाल्डोमा भेटिएको सिरहा प्रहरीले जनाएको छ।

बेवारिसे अवस्थामा भेटिएको रोशन सडेको शव इलाका प्रहरी कार्यालय मिर्चैयाले पोस्टमार्टम गर्न लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पुर्‍याएको थियो। रोशनको शवको १ साउनमा पोस्टमार्टम गरिएको र लगाएको कपडाको आधारमा रोशनका बुबा सिफैतले छोराको पहिचान गरेका थिए।

कसरी भयो हत्या ?
जयकुमार यादव पनि जेलबाट रिहा भएपछि असार २६मा एक हजार सापटी फिर्ता लिन स्थानीय मुकुन्दकुमार कटवाललाई लिएर रोशन रामको घरमा गएका थिए। त्यहाँ जयले पैसा देउ नदिए जे पनि हुन सक्ने भन्दै रोशनलाई धम्काएको रोशनकी आमा सुनैरदेवीले बताउनुभयो।

रोशनले भर्खरै बिहे गरेका र बैदेशिक रोजगारका लागि जाने भन्दै भिषाको प्रतिक्षामा थिए। मृतकका बुवा सिफैतले प्रहरीमा दिएको किटानी जाहेरीको आधारमा आइतबार जय र मुकुन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तुलाल जैसवालले बताउनुभयो। डिएसपी जैसवालका अनुसार असार १० मा धरौटी बुझाएपछि रोशन छुटेका थिए।