काठमाण्डौ/ असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले बताएका छन्।

अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताउनुभयो।

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिएपनि जनता आफैं सचेत हुनुपर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले कतै क्रिटिकल केसहरु आए निश्चित एरियालाई सिल गर्ने र त्यो भइरहेको पनि बताउनुभयो।

उपप्रधानमन्त्री पोखरेलले दुई सयभन्दा बढी सक्रिय केस देखिएका ठाउँमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिने र अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने बताउनुभयो।

लकडाउन खुकुलो भयो भन्दैमा भिडभाड गर्ने, लापरवाहीपूर्ण जीवनशैली अपनाउने र सरकारका निर्देशन पालना नगर्दा आफैंलाई असर पर्नेतर्फ सचेत हुन सरकारले आग्रह गरेको छ।

सार्वजनिक यातायातबारे अहिलेसम्म नयाँ निर्णय भएको छैन। सार्वजनिक यातायात सञ्चालन गर्न आवागमन बढ्ने र प्रत्येक सवारी साधनमा प्रहरी सुरक्षाकर्मी राखेर सञ्चालन गर्न पनि गाह्रो हुने भएकाले केही समय हेरेरमात्र ठाउँ अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी सरकारको छ।

स्कुल, सार्वजनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अझै पनि सञ्चालन नहुने भन्दै उपप्रधानमत्री पोखरेलले सार्वजनिक सभा समारोह पनि गर्न नपाइने बताउनुभयो। उहाँले सरकारले गरेका निर्णय पूर्ण पालना नगर्दा आफैं जोखिममा पर्ने यथार्थ बुझ्न आग्रह गर्नुभयो।

अहिलेसम्म संक्रमण भारत र तेस्रो मुुलुकबाट आएकाहरुमा मात्र देखिएको र समुदायमा नफैलिएको हुनाले यो अवस्था कायमै राख्नु चुनौतिपूर्ण रहेको सरकारको बुझाइ छ।

-अनलाईनखबरबाट