बिराटनगर/ बिराटनगरस्थित कोशी अस्पतालको कोरोना बिषेश अस्पतालमा उपचार गराएका दुईजना आईतबार डिस्चार्ज भएका छन् । भोजपुरका उपेन्द्र राई र झापाका महाजिर आलम डिस्चार्ज भएका हुन् ।

हतुवागढी ६ का २६ बर्षीय राई र झापा बाह्रदशी गाउँपालिकाका ४० बर्षीय आलम आईतबार कोभिड १९बाट मुक्त भएर डिस्चार्ज भएको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिनुभएको छ ।

भोजपुरका राई बैशाख १३ गते र झापाका आलम बैशाख १४ गते अस्पताल भर्ना भएका र उनिहरुको पछिल्लो पटक गरिएको स्वाव परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि आईतबार डिस्चार्ज गरिएको मेसु मिश्राको भनाई छ ।

डिस्चार्ज भएका दुवैजनालाई सामाजिक बिकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर बस्नेतलगायतले बिदाई गर्नुभएको थियो ।

हतुवागढीका राई गत फागुन ३० गते साउदी अरवबाट नेपाल आएका र झापा बाह्रदशीका आलम फागुन २७ गते भारतबाट घर आएको बताएका छन् । डिस्चार्ज भएका दुबैजनाले अस्पतालको निर्देशन अनुसार १४ दिन क्वारेन्टाईनमा बस्ने बताएका छन् ।

राईले तत्काल परिवारको सम्पर्कमा नजाने भन्दै भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने र बाह्रदशीका आलमले पनि घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभएको छ ।

आज डिस्चार्ज भएका दुईजनासँगै बिराटनगरस्थित कोशी अस्पताल अन्तरगतको कोभिड अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको र अस्पतालमा अझै १९ जना उपचाररत छन् ।