धरान / चर्चित दौड प्रतियोगिता प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा आउने भएकी छिन्।

यही फागुन १० गते हुन लागेको दौडमा बिशिष्ट अतिथिको रुपमा खतिवडा धरान आउन लागेकी हुन्। उनी १० के रनमा सहभागी पनि हुने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिनुभयो। ‘उहाँ हाम्रो धरान रनको सद्भावना दुतको रुपमा निम्तो गर्न लागेका हौं, उहाँ दौडमा पनि सहभागी हुने कुरा छ,’अध्यक्ष राईले भन्नुभयो,‘ १० किलोमिटर सम्भव नभए पनि ३ किलोमिटरसम्म दौडमा सहभागी हुनुहुन्छ।’ १० के रनमा १२ बर्षसम्मका बालबालिकाहरुको लागि ३ किलोमिटर दुरीको दौड हुन्छ।

धरान १० के रन नेपालकै ठुलो संख्यामा खेलाडीहरु सहभागी हुने मध्येको एक दौड प्रतियोगिता हो।

यसपाली ५ हजार संख्यामा सहभागीहरु हुने आयोजकको दाबी छ। प्रत्येक सँस्करणमा आयोजकले एक जना बिशिष्ट क्षेत्रका व्यक्तित्वलाई निम्तो गर्ने गरेको छ। यसअघि, हरिबहादुर रोकाया, क्याप्टेन विजय लामालगायत व्यक्तित्वहरु धरान रनमा सहभागी भइसक्नुभएको छ।

धरान १० के रनलाई यसपाली प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ। आयोजकले प्रत्येक खेलाडीहरुलाई टि सर्ट दिनेछ भने २ हजार खेलाडीहरुलाई मेडल दिने जनाएको छ।