ओखलढुङ्गा / ओखलढुङ्गामा सोमबार बिहान सवारी दुर्घटना हुँदा सन्तोष विश्वकर्माको ज्यान गएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो।

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाले जानकारी दिएको छ।

दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल गोपेखोलामा खसेरको प्रहरीले जनाएको छ।