इनरुवा / इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफ्नो तलब भत्ताबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि साइकल उपलब्ध गराउनुभएृको छ। मेयर मेहताले इनरुवा–९ मा रहेको बबिया स्वास्थ्य चौकी मातहतका २० जना स्वयंसेविका र कार्यालय प्रयोजनका लागि थप एकसहित २१ थान साइकल वितरण गर्नुभएको हो।

सामाजिक क्षेत्रमा अहोरात्र खटिने महिला स्वास्थ्यकर्मीहरुको योगदानको कदर गर्दै सम्मान स्वरुप साइकल वितरण गरेको नगर प्रमुख मेहताले बताउनुभयो। आवश्यक अन्य सहयोग समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएका मेयर मेहताले उपलब्ध गराउनुभएका साइकलका कारण स्वयंसेविकाहरुले प्रदान गर्ने सेवा थप छिटो र छरितो हुने विश्वास समेत व्यक्त गर्नुभयो।

वितरित साइकलको बजार मूल्य प्रतिगोटा कम्तिमा ७ हजार पर्छ। २१ थान साइकल व्यक्तिगत तलब भत्ता जुटाई सहयोग उपलब्ध गराएका नगर प्रमुख मेहतालाई समेत स्वयंसेविकाहरुका तर्फबाट सामुहिक सम्मान गरिएको थियो।

साइकल बितरण कार्यक्रममा वडाध्यक्षहरु वशिरमुद्धिन मन्सुरी, अञ्जनी पोखरेल, समाजसेवी मौलाना हारुन खान, बबिया स्वास्थ्य चौकी इन्चार्ज सन्तोष देव लगायतको उपस्थिति रहेको थियो।