काठमाण्डौ / रिक्त सभामुख पदमा अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच सहमति भएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्षद्वयको बैठकले सापकोटाको नाममा सहमति जुटाएको स्रोतले जानकारी दिएको छ। बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो।

सभामुख उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र नै लामो समयदेखि किचलो देखिएको थियो।स्रोतका अनुसार अध्यक्षद्वयको बैठकमा ओलीले सभामुखको उम्मेद्वारका विषयमा सहमति नजुटे संसदीय दलबाट टुंग्याऊँ भनेर प्रस्ताव गर्नुभएको थियो।

जवाफमा दाहालले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि संसदीय दलबाटै निर्वाचनमार्फत टुंग्याउनुपर्ने प्रस्ताव राख्नुभएको थियो। त्यसपछि सभामुखमा सापकोटाको नाममा ओलीले सहमति जनाएको स्रोतको दाबी छ। आइतबार अपरान्ह ४ बजे बस्ने नेकपा सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्नेछ।