काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्की आएको दावी गर्नुभयो। तर उहाँले कसले कुन माध्यमबाट केही पनि खुलाउनु भएन। उहाँले मार्ने धम्की मात्र आएको टिप्पणी सञ्चारमाध्यममा फैलाउनुभयो।

तर, सरकारले यसविषयमा थप प्रष्ट पार्न रावलसँग आग्रह गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भीम रावललाई कुन नम्बरबाट कहाँबाट धम्की आयो भनेर प्रस्ट पार्न आग्रह गर्नुभयो। यद्यपी उहाँले धम्की आएको कुरा निराधार भएको बताउनुभयो।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले कसैको ज्यानै लिने धम्की दिनुहोला १ तपाईंलाई पत्यार लाग्छ ?’ उहाँले यसमा सत्यता नरहेको बरु भीम रावलले कुन नम्बरबाट कहाँबाट धम्की आयो भनेर आफैं प्रस्ट पार्नुपर्ने बताउनुभयो।

विचारमाथि सहमति, असहमति राख्दैमा कसैको ज्यानै लिने धम्की दिन नमिल्नै बताउँदै प्रवक्ता बास्कोटाले बालुवाटारबाट धम्की आएको भन्ने कुरा पत्याउन नसकिने बताउनुभयो।

प्रधानमन्त्री पनि नेकपाकै र भीम रावल नेकपाकै नेता भएको बताउँदै उहाँलाई सरकारले पछुवा गाडीसहित सुरक्षाकर्मी उपलब्ध गराइरहेको स्मरण समेत गराउनुभयो। ‘प्रधानमन्त्रीले आफ्नो कार्यकर्ता मार्न तरबार बोकेर र गोली भिरेर हिँड्नुहुन्छ भन्ने कुरामा कुनै सत्यता छैन’, मन्त्री बाँस्कोटाको भनाई छ।