काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो उपचारमा कुल खर्च २ लाख ५४ हजार रुपैँया खर्च भएको छ।

त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको शल्यक्रिया र त्यसपछि आईसीयूमा बस्दाको औषधी खर्च त्यति लागेको जानकारी दिनुभयो।

प्रधानमन्त्री ओली १० दिनको उपचारपछि बिहीबार डिस्चार्ज हुनुभएको छ। अस्पतालबाट बाहिरिने क्रममा उहाँले स्वास्थ्यमा सुधार आएकाले घर जान लागेको बताउनुभयो। बिहीबार दिउँसो ४ बजे डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओली सीधै बालुवाटार जानुभएको थियो।

उहाँ यही मंसिर १० गते पेटको दुखाइका कारण सो अस्पताल भर्ना हुनुभएको थियो। प्रधानमन्त्री ओलीको परीक्षणपछि तत्काल एपेन्डिसाइटिस र त्यसबाट फैलिएको संक्रमण भएको कारण शल्यक्रिया गरिएको थियो।