काठमाण्डौ/ नेकपा एमालेले पार्टी हितविपरित काम गर्ने नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ। नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय गरिएको नेकपा एमालेले जनाएको छ।

यसअघि माधवकुमार नेपाल र भिम रावलपनि ६ महिनाका लागि निलम्बनमा परेका थिए। एमालेले दोस्रो पटक सोधेको स्पष्टीकरणमा मात्रै पाण्डे र भुषालले स्पष्टीकरण बुझाएका थिए। एमालेको तत्कालिन केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो।

‘तपाईले अहिले पनि पार्टी बिरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उदेश्य तथा मनासायको निम्ती दुरुपयोग गर्ने सम्भावना देखिएको’, पत्रमा उल्लेख छ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ। अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिईसक्नुभएको छ। नेताद्वयलाई सच्चिन यो अन्तिम मौका भएको पनि पत्रमा उल्लेख गरिएको छ।

‘यस्तै गतिविधिहरु कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाविधेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधि सभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ’, पत्रमा भनिएको छ।

र यो पनि : नेकपा एमालेद्वारा माधव नेपाल र भिम रावललाई ६ महिनाका लागि निलम्बन