इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले बिहिबार चारजनालाई सार्वजनिक गरेको छ। इटहरी प्रहरीले कार एवं मोवाईल चोरीमा संलग्न एवं चोरीको मोवाईल किन्ने चारजनालाई बुधबार नियन्त्रणमा लिएर बिहिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

असोज २९ गते इटहरी १२ खनारका पुष्पनारायण चौधरीको कार, मोवाईल एवं एटिमसहितको पर्स चोरी गर्ने एवं चोरीको मोवाईल किन्नेलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको हो। प्रहरीले झापाको बिर्तामोड नगरपालिका १ पश्चिम धर्मकाटा बस्ने २० बर्षीय प्रदिप चौधरी, इटहरी १३ बस्ने २० बर्षीय संजय सरदार र १९ बर्षीय नरेश सरदार अनि १९ बर्षीय अविनास सरदारलाई बुधबार पक्रेर बिहिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

पक्राउ गरेका मध्य प्रदिप चौधरीले असोज २९गते बिहान ३ बजेतिर इटहरी १२ खनारका पुष्पनारायण चौधरीको घरको चौथो तल्लाको कोठामा पसेर चार्जमा रहेको सामसुङ ग्यालेक्सी S20 मोवाइल र बिभिन्न बैँकका ATM कार्डहरु रहेको पर्स र वा ९ च ३४०३ नम्बरको सिल्भर रङको Ford Titanium कारको साँचोसमेत निकाली पार्किङमा राखेको कार र कार भित्र रहेको DELL कम्पनीको I7 ल्यापटपसमेत चोरेको प्रहरीले जनाएको छ। saman 1

यस्तै कात्तिक १६ गते राती प्रदिप चौधरीले इटहरी १३ खनारस्थित मिया टोलका सद्दाम हुसेनको घरबाट सामसुङ कम्पनीको एउटा मोवाईल र रेडमी कम्पनीको एउटा मोवाइल एवं नगद छयालिस हजारसमेत चोरी गरेको प्रहरीले जनाएको छ।

असोज २९ गते चोरी भएको कार भोलीपल्ट मोरङको उर्लावारी ३ स्थित नयाँ मंगलवारेमा बेवारिसे अवस्थामा फेला परेको थियो। कार चोरीमा संलग्न चौधरीलाई प्रहरीले कात्तिक २३ गते राती इटहरी १२ बस्ने अविनास सरदारको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले चौधरीको शरिर खान तलासी गर्दा पुष्पनारायण चौधरीको घरबाट चोरी भएको सामसुङ मोवाइल र पुष्प नारायण चौधरीको नाममा जारी भएका बिभिन्न बैँकका ४ वटा ATM कार्ड र एउटा कालो पर्स पनि बरामद गरेको थियो।

चोरीमा संलग्नलाई संरक्षण गर्ने र चोरीको मोवाईल किन्ने सरदार त्रय पक्राउ
प्रहरीले चोरीमा संलग्न प्रदिप चौधरीलाई घरमा लुकाई राखेर संरक्षण दिने अविनास सरदार र सद्दाम हुसेनको घरबाट चोरी भएको रेडमी कम्पनीको एउटा र सामसुङ कम्पनीको एउटा मोवाइल किन्ने इटहरी १३ का नरेश सरदार र संजय सरदारलाई पनि पक्राउ गरेको छ।

प्रहरीले प्रदिप चौधरीको साथवाट कालो पर्स एउटा, नगद सात सय असी, Global IME Bank को पुष्पनारायण चौधरीको नाममा जारी भएको एउटा एटिमएम कार्ड, Sanima Bank को पुष्पनारायण चौधरीको नाममा जारी भएको एटिमएम कार्ड, NIC ASIA Bank को अर्को एटिएम कार्ड अनि Nabil Bank को गंगा चौधरीको नाममा जारी भएको एउटा एटिएम कार्ड र एउटा सामसुङ कम्पनीको Samsung galaxy s20+मोवाइल बरामद गरेको छ।

यसैगरी नरेश सरदारको साथबाट सामसुङ कम्पनीको एउटा निलो रङ मोवाइल अनि संजय सरदारको साथबाट रेडमी कम्पनीको एउटा कालो मोवाइल प्रहरीले बरामद गरेको छ। मोवाइलसहित पक्राउ परेकाहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले बताउनुभयो।