काठमाण्डौ/ काठमाण्डौको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै सबैभन्दा सस्तो दरमा पिसिआर परिक्षण गर्ने भएको छ। सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै केएमसीले पिसिआर परिक्षण गर्ने भएको हो।

सरकारले अहिले कोरोना परिक्षणका लागि पिसिआर परिक्षण शुल्क ४ हजार ४ सय तोकेको छ। केएमसीले एकैपटकमा २० वटा स्वाब परिक्षण गराउने संघ सँस्थालाई २ हजार ४ सय ९९ र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मा नै पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाएको हो। यो शुल्क सोमबारबाट लागुहुने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिनुभयो।

‘अहिले देशभर नै कोरोना संक्रमण बढिरहेको छ। सरकारले पनि माग बमोजिम परीक्षणको दायरा बढाउन सकिरहेको छैन।’ डा.शर्माले भने–‘कोरोनाको महामारी फैलिरहेको अवस्थामा न्यून शुल्कमा पिसिआर परिक्षण गरेर सहयोग पुर्‍याउन खोजेका हौं।’

केएमसीले गत साउन १ गतेबाट पीसीआर परीक्षण थालेको हो। त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ। बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले भदौ १५ गतेबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ। त्यसयता एकसाता नबित्दै डा.शर्माले तीनवटा महत्वपूर्ण निर्णय लिएका छन्। अध्यक्षको कार्यभार सम्हालेको दुईदिन भित्रै ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरोना संक्रमितको उपचार हुने वातावरण पनि मिलाएका छन्।

डा.शर्माले अहिले पुनः अर्को महत्वपूर्ण निर्णय लिदै केएमसीमा मूलूककै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने वातावरण मिलाउनुभएको हो।