काठमाण्डौ/ सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेको छ। सोमबार साँझ आकस्मिक रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा जारी गरेको हो ।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । बालुवाटारमा जारी बैठकमा लिपुलेक र कालापानी समेटेर बनाइएको नेपालको नयाँ नक्साको बारेमा छलफल हुने बताइएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकाले सोहि बिषयमा छलफल हुने बताइएको छ ।

बैठकमा बिभिन्न देशमा रहेका नेपालीलाई देशभित्र ल्याउनेबारे छलफल हुने बताइएको छ । लकडाउनपछि भारतलगायतका देशमा ठूलो संख्यामा नेपाली अड्किएका छन् । बंगलादेशलगायतका देशमा रहेका बिद्यार्थीले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् ।