काठमाण्डौ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा सभामुख पदका लागि उम्मेदवारी नदिने भएको छ। मंगलवार भइरहेको प्रतिनिधिसभा सभामुख पदका लागि उम्मेदवारी दर्तामा नेपाली कांग्रेस सहभागी नहुने भएको हो।

बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिए पनि कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने कांग्रेस सांसद प्रकाश स्नेहीले जानकारी दिनुभयो।

कांग्रेसले पुष्पा भुसाललाई उम्मेदवारी बनाउने चर्चा भए पनि उम्मेदवारी दर्ताको अन्तिम चरणमा उम्मेदवार नदिने निर्णय गरेको हो। कांग्रेस संसदीय दलले नेकपाको स्पष्ट बहुमत रहेका कारण सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार प्रकरणमा मुछिएर राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख पद रिक्त भएको हो।