विराटनगर / प्रदेश १ ले पहिलो पटक बैदेशिक सहायतामा हस्ताक्षर गरेको छ। बैदेशिक सहायताहरु काठमाण्डौमा मात्र हस्ताक्षर हुने क्रमलाई तोड्नै पहिलो पटक प्रदेश १ को राजधानी बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र स्विजरल्याण्ड सरकार बीच द्विपक्षीय सम्झौता भएको हो।

वैदेशिक सहायता सम्झौता सम्बन्धि कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्री डा. युवराज खतिवडाले बैदेशिक सहायता राम्रो कामको लागि प्रयोग हुने बताउनुभयो। पहिलो बैदेशिक सहायता प्राप्त गर्ने प्रदेश १ सरकार रहेको जानकारी दिँदै उहाँले संघीय राजधानी बाहिर वैदेशिक सहायता सम्बन्धि यही नै पहिलो सम्झौता भएको समेत जानकारी दिनुभयो।

अनुदान लिने कुरा कसैले दयाले नदिएर विश्वका कतिपय नितीका कारण नेपालले ब्यहोरेको क्षती आर्थिक, सामाजिक र वातावरणीय रुपमा परेको असरको क्षतीपुर्ति मात्र भएको मन्त्री खतिवडाले बताउनुभयो।

सम्झौतामा हस्ताक्षर पछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजावेथ भन क्याप्लरले नेपाल बसाईको आजसम्मकै सबैभन्दा ठुलो उपलब्धिको रुपमा सम्झौता गर्न सफल भएको बताउनुभयो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्पन्न भएको दोहोरो द्विपक्षीय सम्झौता अनुसार स्विजरल्याण्ड सरकारले प्रदेशको विकासका लागि एक अर्ब रुपैँया सहयोग गर्ने छ। त्यसमा प्रदेश सरकारले २० करोड रुपैँया थपेर १ अर्ब २० करोड रुपैँयाको कार्यक्रम अघि बढ्नेछ। अर्थ मन्त्रालयका अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजावेथ भन क्याप्लरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।