काठमाण्डाै / शुक्रबार राति चन्द्रग्रहण लाग्ने खगोलविद्ले बताएका छन्। राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर 'पेनम्ब्रल' चन्द्रग्रहण भएकाे उहाँले बताउनु भयो। यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न वैज्ञानिकका लागि महत्पूर्ण हुने उहाँले बताउनु भयो।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाँया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो।

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने आज चन्द्रग्रहण नलाग्ने दाबी गरेको छ। समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले समितिमा पनि यसबारेमा छलफल भएको तर आज चन्द्रग्रहण नलाग्ने निष्कर्ष निकालिएको बताउनु भयो।

यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसकिने भएकाले पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा नगरिएको एस्ट्राेनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो। 

के हो 'पेनम्ब्रल' चन्द्रग्रहण ?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो। यस्तो छाँया दुई प्रकारको हुन्छ– सघन तथा बिरल।

यदि चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छायाँमा पर्दा 'पेनम्ब्रल' चन्द्रग्रहण हुने सोसाइटीका अध्यक्ष भट्टराईको भनाइ छ। 

यो वर्ष कति वटा ग्रहण लाग्दै छन् ?

सन् २०२० मा दुई वटा सूर्यग्रहण र चार वटा चन्द्रग्रहण लाग्ने नेपाल एस्ट्राेनोमिकल सोसाइटीले जनाएको छ। जसमध्ये नेपालबाट चार वटा मात्रै देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो। 

पहिलो सूर्यग्रहण २०७७ साल असार ७ गते आइतबार लाग्नेछ। अफ्रिकाबाट सुरु भई एसियामा आएर सकिने वलय सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिनेछ। नेपालमा बिहान १० बजेर ५३ मिनेटमा सुरु हुने खग्रास सूर्यग्रहण दिउँसो १२ बजेर ४१ मिनेटमा मध्य हुने र दिउँसो २ बजेर २४ मिनेटमा सकिनेछ।

यस्तै २०७७ मङ्सिर २९ गते सोमबार लाग्ने सूर्यग्रहण भने नेपालबाट नदेखिने उहाँले बताउनु भयो। 

यसैगरी २०७७ जेठ २३ गते शुक्रबार चन्द्रग्रहण लाग्नेछ। राति ११ बजेर ३० मिनेटमा सुरु हुने ग्रहण १ बजेर ९ मिनेटमा मध्य भइ राति २ बजेर ४९ मिनेटमा सकिनेछ। यो चन्द्रग्रहण पनि 'पेनम्ब्रल' चन्द्रग्रहण हो।

यस्तै २०७७ असार २१ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट नेदेखिने अध्यक्ष भट्टराईले बताउनुभयो। 

यस्तै मङ्सिर १५ गते सोमबार लाग्ने चन्द्रग्रहण भने निकै छोटो समय देखिनेछ। यो ग्रहण चन्द्रोदय हुनुअघि नै सुरु भइसक्ने र केही समयमै सकिने भएकाले कुनै डाँडामा गएर हेर्न सकिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।