काठमाण्डौ / जारी सिजनको स्पेनिस सुपर कप फुटबलअन्तर्गत आज राति दोस्रो सेमिफाइनल खेल हुँदैछ । जहाँ बार्सिलोना र एथ्लेटिको मड्रिडको रोमाञ्चक भिडन्त नेपाली समयअनुसार राति १२ः४५ बजेबाट हुँदैछ । गत राति पहिलो सेमिफाइनल खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३–१ ले हराएर फाइनल पुगिसकेको छ । आज राति हुने दोस्रो सेमिफाइनल विजेताले रियलसँग उपाधि भिडन्त गर्नेछ ।

साउदी अरेबियास्थित किङ अब्दुल्हा स्पोर्टस् सिटी रंगशालामा हुने खेलमा आज ला लिगाका दुई बलिया टोली एकअर्कालाई हराएर फाइनल पुग्ने दाउमा छन् । बार्सिलोना हाल ला लिगाको शीर्ष स्थानमा भए पनि अंकका हिसाबले ऊ ११ वर्षयताकै खराब अवस्थामा छ । उसले यो सिजन सामान्य प्रदर्शन गरिरहेको छ । पछिल्लोपटक आइतबार अवे मैदानमा लिगको २०औं स्थानको इस्पान्योलसँग खेल्दा बार्सिलोना २–२ का बराबरीमा रोकिएको थियो ।

यता, एथ्लेटिकोले भने लिगको पछिल्लो खेलमा लेभान्टलाई आफ्नो घरमा २–१ ले हराएको थियो । बार्सिलोना १९ खेलपछि ४० अंसहित शीर्ष स्थानमा छ भने एथ्लेटिको समान खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ ।

रियल मड्रिड फाइनल पुगिसकेकाले आज दोस्रो सेमिफाइनलमा सबैभन्दा चर्को दबाब बार्सिलोनामाथि हुनेछ । आफ्नो कट्टर प्रतिस्पर्धी उपाधिनजिक पुग्दा बार्सिलोनालाई फाइनलमा स्थान बनाउनैपर्ने दबाब हुनेछ । किनभने, रियल र बार्सिलोना दुवै सिजनको पहिलो उपाधि कुनै पनि हालतमा जित्ने दाउमा छन् ।

रियल पछिल्लो समय उत्कृष्ट फर्ममा फर्किंदा बार्सिलोना जेनतेन मात्रै खेलिरहेको छ । बार्सिलोना आज बलियो टोली एथ्लेटिकोलाई हराएर आफूहरू उपाधिका लागि तयार रहेको सन्देश दिन चाहन्छ ।

आज बार्सिलोनाको टोलीमा सबै प्रमुख खेलाडी उपलब्ध छन् । तर, पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेन भने चोटका कारण टोलीमा छैनन् । उनको स्थानमा नेटो हुनेछन् । अन्य सबै पोजिसनका खेलाडी प्रशिक्षक अर्नेस्टो भाल्भर्डेसँग उपलब्ध छन् ।

यता, एथ्लेटिको आज सामान्य अवस्थाको बार्सिलोनालाई निराश बनाएर फाइनलमा मड्रिड डर्बी पक्का गर्ने योजनामा छ । एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले खेलअघि आयोजित पात्रकार सम्मेलनमा बोल्दै आफूहरू फाइनल पुग्ने दाबी गरेका छन् । उनले हालको अवस्थामा बार्सिलोनाविरुद्ध खेल्न समस्या नरहेको बताएका थिए ।

बार्सिलोना र एथ्लेटिको मड्रिड पछिल्लोपटक ला लिगामा गत डिसेम्बर २ मा खेलेका थिए । एथ्लेटिकोको घरमा भएको सो खेल बार्सिलोनाले ०–१ जितेको थियो । एथ्लेटिको आज बार्सिलोनासँग सो हारको बदला लिने योजनामा छ ।