काठमाण्डौ / शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले दोस्रो जित दर्ता गरेको छ। एन्फा मैदान सातदोबाटोमा बुधबार भएको पहिलो खेलमा विभागीय क्लब नेपाल पुलिसले गत संस्करणको उप विजेता भएको संकटा क्लब लाई २–१ गोल अन्तरले पराजित गरेको हो।

१५ औंँ मिनेटमा पुलिसले उपहार गोलमार्फत अग्रता लिएको थियो। संकटाका अमित तामाङले क्लियर गरेको बलले आफ्नै जाली चुमेपछि पुलिसले उपहार गोलबाट अग्रता लिन सफल भयो। तर १८ औंँ मिनेटमा अमित तामाङले पुलिसको पोस्टमा गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए।

३३ औंँ मिनेटमा सुमन लामाले पुलिसका लागि गोल थप्दै खेल २–१ को अवस्थामा पुर्‍याए। पहिलो हाफमा २–१ को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा मौका पाए पनि गोल भने थप्न सकेन। यसैगरी संकटाले खेलमा फर्कनका लागि गरेको प्रयास पनि असफल हुन पुग्यो।

यो जितसँगै पुलिस अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। पराजित भएको संकटा भने दशौँ स्थानमा छ। आजको खेलमा निर्णायक गोल गर्ने सुमन लामा केल्मी म्यान अफ द म्याच घोषित भए।