एजेन्सी / बलिउड फिल्म उद्योगका लागि २०१९ सुखमय नै रह्यो। सन् २०१९ले बलिउडलाई केही नयाँ अनुहारहरु दियो, जसमा भारतीय सिनेमाका लागि कैयौँ सम्भावनाहरु देख्न सकिन्छ।

बलिउड डेब्यू गर्नेमध्ये केहीले आफू स्टारकिड हुनुको फाइदा उठाए भने केहीले आफ्नो कडा मेहनतका कारण बलिउडको यात्रा सुरु गर्न सफल भए। यी हुन् बलिउड डेब्यू गरेका १० नयाँ अनुहार :

१. अनन्या पाण्डे



अभिनेत्री अनन्या पाण्डेका यस वर्ष २ वटा फिल्म रिलिज भयो। उनले करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यू गरिन। यो फिल्मपछि उनले फिल्म ‘पति पत्नी और वो’ मा काम गरिन्। यि दुवै फिल्मबाट अनन्याको अभिनयको प्रशंसा भयो। यतिबेला उनी अभिनेता इशान खट्टरका लागि तेस्रो फिल्म ‘खाली–पीली’ को छायांकनमा व्यस्त छिन्। २१ वर्षीया अनन्या पाण्डे अभिनेता चंकी पाण्डेकी छोरी हुन्।

२. तारा सुतारिया

अभिनेत्री तारा सुतारियाले पनि फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यू गरिन्। ताराको सुन्दरता र अभिनय क्षमताका कारण उनले त्यसपछि खाली बस्नु परेन। उनले दोस्रो फिल्म ‘मरजावाँ’ काम गरिन्। यो फिल्म पनि बक्स अफिसमा सफल रह्यो। यतिबेला तारा उनको सुन्दरता, अभिनयको मात्रै नभइ प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन्।

३. सिद्धान्त चतुर्वेदी

सिद्धान्तले रणवीर सिंहको फिल्म ‘गली ब्वाय’ बाट बलिउड डेब्यू गरे। फिल्ममा उनले निर्वाह गरेको एमसी शेरको भूमिकाको निकै चर्चा भयो। यसै फिल्मबाट उनले उत्कृष्ट सहनायको अवार्डहरु पनि जिते।

उनको अभिनयको तारिफ गर्दै महानायक अमिताभ बच्चनले उनलाई आफ्नै हातले लेखेको चिट्ठी समेत पठाएका थिए। बलिउडका अन्य कलाकारले समेत उनको प्रशंसा गरे। सिद्धान्त छिट्टै अभिनेत्री दीपिका पादुकोण तथा अनन्या पाण्डेको आगामी फिल्ममा देखिनेछन्। यसका साथै यशराज ब्यानरको फिल्म ‘बन्टी और बब्लीका लागि पनि उनी अनुबन्धित भइसकेका छन्। 

४. सई मान्ज्रेकर

सई मान्ज्रेकरले यस वर्ष सलमान खानकी जोडीको रुपमा फिल्म ‘दबंग ३’ मार्फत बलिउड डेब्यू गरिन। यस फिल्ममा निर्वाह गरेको अभिनयका कारण उनी चर्चामा छिन्। सई अभिनेता तथा फिल्म निर्देशक महेश मान्ज्रेकरकी छोरी हुन्।

अझै रोचक कुरा त यो छ कि जति बेला सलमानले बलिउड डेब्यू गरेका थिए, त्यसको एक दशक पछि उनको जन्म भएको थियो।

५. प्रनुतन बहल

प्रनुतन बहललाई पनि सलमान खानले नै बलिउड डेब्यू गराए। सलमान खानको प्रोडक्शनमा बनेको फिल्म ‘नोटबुक’ मार्फत सलमानले उनलाई लन्च गरेका हुन्। तर यो फिल्म बक्स अफिसमा फ्लप भयो। फिल्म असफल भए पनि प्रनुतनको अभिनयको भने प्रशंसा भयो।

उनी यतिबेला उनको दोस्रो फिल्म ‘हेलमेट’को छायांकनमा व्यस्त छिन्। प्रनुतन बलिउडकी दिग्गज अभिनेत्री नुतनकी नातिनी हुन भने अभिनेता मोहनीश बहलकी छोरी हुन्। 

६. करण देवल

अभिनेता सनी देवलका छोरा तथा धमेन्द्रका नाति करण देवलले फिल्म ‘पल पल दिल के पास’ मार्फत डेब्यू गरे। तर फिल्म फ्लप सावित भयो। करणको अभिनयमा पनि आलोचना भयो।

७. जहीर इकवाल



सलमान खानले आफ्ना बाल्यकालका साथी इकबाल रतनसीका छोरा जहिर इकबाललाई फिल्म ‘नोटबुक’ मार्फत मुख्य अभिनेताको रुपमा डेब्यू गराए। तर जहीरको बलीउड यात्रा सुखद भएन। 

८. करण कपाडिया



अभिनेत्री डिम्पल कपाडियाका भतिजा करण कपाडियाले फिल्म ‘ब्ल्यांक’ मार्फत डेब्यू गरे। उनले पनि बलीउडमा कुनै प्रभाव देखाउन सकेनन्। फिल्म फ्लप भयो। 

९.मीजान जाफरी

जावेद जाफरीका छोरा मीजान जाफरीको डेब्यू गर्नु अघिदेखि नै बलिउडमा निकै चर्चा थियो। उनले संजयलीला भन्सालीको फिल्म ‘मलाल’ मार्फत डेब्यू गरे। तर यो फिल्म बक्स अफिसमा फ्लप भयो। पहिलो फिल्म असफल भएपनि मीजाले खाली बस्नु परेन। उनी फिल्म ‘हंगामा २’ को तयारी गरिरहेका छन्। 

१०. शर्मिन सहगल

मीजान जाफरीसँगै शर्मिन सहगलले फिल्म ‘मलाल’ मार्फत डेब्यू गरिन्। शर्मिनका लागि पनि बलिउडको यात्रा सुखद रहेन। शर्मिन सहगल निर्देशक संजयलीला भन्सालीकी भान्जी हुन्।