सुनसरी/ इटहरीमा माघ १ गते देखी ५ दिने सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ सञ्चालन हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नम्बर १को संयोजनमा प्रदर्शनी सञ्चालन हुने भएको हो।

प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक इटहरी स्थित जनता स्कुलको खेल मैदानमा सञ्चालन हुने क्यान सुनसरीले सोमबार साँझ पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी)बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउने उदेश्यका साथ प्रदर्शनी सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

इन्फोटेकमा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने आयोजकले जानकारी दिएका छन्।

सूचना प्रविधि प्रर्दशनीमा क्यानमहासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ। प्रर्दशनीलाई व्यवसायीहरुले व्यापार बिस्तारका साथै नया–नया प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्न सक्नुका साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले बताउनुभयो।

क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हनुका साथै इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु राखिने जनाइएको छ।

त्यसै इन्फोटेकमा आट्र्र्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ।