काठमाण्डौ / मौसमका बारेमा मानिसको स्वभाव नै हो, जाडो मौसममा ‘गर्मी नै ठीक’ भन्ने र गर्मी मौसममा ‘बरु जाडो नै ठीक’ भन्ने। मौसम परिवर्तन प्राकृतिक नियम हो। जस्तोसूकै मौसममा आफ्नो शरीरको ख्याल गर्नु र मौसमअनुसार सचेतता अपनाउनु नै बुद्धिमानी हुन्छ।

यतिबेला चिसो मौसम छ। तराईमा शीतलहरले जनजीवन प्रभावित पारिरहेको छ भने पहाडी क्षेत्रमा घट्दो तापक्रमले दैनिकी कष्टकर बनाइरहेको छ।

जाडोमा ब्लड प्रेसर बढ्ने खतरा
चिकित्सकहरुका अनुसार गर्मीको तुलनामा जाडोमा ब्लड प्रेसर अचानक बढ्छ। ब्लड प्रेसर अचानक बढ्ने समस्याले नै हृदयाघात निम्त्याउने गर्दछ। परिणामस्वरुप केही दिनअघि तन्दूरुस्त देखिएको मानिसको अप्रत्यासित रुपमा निधन पनि हुन सक्छ।

२५ प्रतिशतसम्म जोखिम बढी
एशियन इन्स्टिच्युट अफ मेडिकल साइन्स, भारतका चिकित्सक ऋषि गुप्ताका अनुसार डिसेम्बर र जनवरी महिनामा विश्वमै कार्डिएक चिकित्सकहरुले औसतभन्दा निकै बढी बिरामी हेर्नुपर्छ। यो दुई महिनामा मुटु फेल हुने समस्या २५र३० प्रतिशतसम्म बढ्ने उनी बताउँछन्।

चिकित्सकहरुका अनुसार मुटुसम्बन्धी रोगले पहिला नै सताइसकेका वृद्धवृद्धालाई जाडो मौसममा जोखिम बढ्ने गर्दछ। जाडो मौसममा शरीरलाई गर्मीको जरुरी हुन्छ। शरीरमा गर्मी उत्पन्न गराउन मुटुले बढी काम गर्नुपर्ने हुन्छ, जसले गर्दा हृदयाघातको खतरा हुने चिकित्सकहरुको भनाइ छ।

मधुमेहका बिरामीलाई पनि खतरा
मधुमेहका बिरामीलाई पनि जाडो मौसममा थप चुनौती सामना गर्नुपर्ने हुन्छ। जाडोका कारण पानी कम पिउने, एक प्रकारले जाडोमा मानिसको जीवनशैली नै परिवर्तन हुने भएकाले शरीरमा सुगरको मात्रा बढ्ने चिकित्सकहरुको भनाइ छ। जाडोमा शारीरिक गतिविधि कम हुने, प्रदूषणको मात्रा बढ्ने र खानपिनमा पनि माछा–मासुको उपभोग बढ्ने भएका कारण मधुमेहका रोगीलाई समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन्।

जोर्नी दुख्नु
अर्थोपेडिक चिकित्सकहरुका अनुसार चिसो मौसममा जोर्नीसम्बन्धी समस्या पनि बढ्ने गर्दछ। शीतलहर तथा कुहिरोका कारण शरीरले पर्याप्तमात्रामा सूर्यको किरण नपाउनाले नै यस्ता समस्या जाडोमा बढी हुने गर्दछ। जाडोमा शरीरमा ‘भिटामिन डी’को कमी हुन नदिन विशेष सतर्कता अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन्।

अन्य रोग
जाडोमा देखा पर्ने अन्य शारीरिक समस्याहरुमा सिँगान बगिरहने, आँशु आइरहने, हाच्छ्युँ आइरहने, पखाला, रुघा जस्ता समस्या पनि हुन्। नियमित ‘मर्निङ वाक’ जाने गर्नु भएको छ भने जाडोको मौसममा सावधानी अपनाउन जरुरी हुन्छ। किनकि मर्निङ वाकबाट हुने फाइदाको तुलनामा जाडोको बेवास्ता गर्दा हुने बेफाइदा झन् बढी हानिकारक हुन सक्छ। यस्तो बेलामा तपाई घरमै बसेर व्यायाम गर्न सक्नुहुन्छ

बाहिर निस्कनै पर्ने अवस्थामा टोपी, पञ्जा, मोजालगाएर शरीरको सबैजसो अङ्ग ढाकेर निस्कनुस्, ताकि शरीरको तापक्रम घट्न नपाओस्। धुम्रपान तथा मदिरा सेवन नगर्नुस्। मनतातो पानी पटक–पटक गरी ५–६ गिलास पिउने गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

जाडो मौसममा फलफुल तथा विभिन्न प्रकारका सुप खाएर पनि शरीरलाई ‘मेन्टन’ गर्न सकिन्छ। मह सेवनले पनि शरीरको तापक्रम बढाउन मद्दत गर्छ। कार्बोहाइड्रडको मात्रा कम भएको खानेकुरामा ध्यान दिनुपर्छ।