काठमाण्डौ / नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो। मन्त्री भट्टराईले यसको संयोजन गर्ने गैरआवासीय नेपाली सङ्घ (एनआरए) अध्यक्ष कुमार पन्तलाई धन्यवाद पनि दिनुभएको छ।

यसअघि संविधान दिवसको दिन संसारकै अग्लो यूएईको बुर्ज खालिफा टावरमा नेपालको झण्डा फहराइएको थियो। उहाँले अहिले १४ देशका अग्ला टावरको पक्का भएको र बाँकीको लागि पनि तयारी भैरहेको बताउनुभयो।

मन्त्री भट्टराईका अनुसार निम्न सहरका अग्ला टावरमा नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो फहाराइनेछ।

सिड्नी-अस्ट्रेलिया, वेलिङ्टन-न्युजिल्याण्ड, टोक्यो-जापान, सियोल-दक्षिण कोरिया, दोहा-कतार, यूएई-दुबई, हङकङ, म्युनिख-जर्मनी, ब्रसेल-बेल्जियम, बेलायत-लण्डन, न्यु-योर्क अमेरिका, डब्लिन-इरेल्याण्ड, टोरन्टो-क्यानडा र शिकागो-अमेरिका।