एजेन्सी / बलिउड अभिनेता अक्षकुमार पछिल्लो समय आफ्नो फिल्म ‘गूड न्युज’को जोडतोडका साथ प्रचार गरिरहेका छन्।

शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको फिल्ममा अक्षयका साथ करिना कपूर, कियारा आडवाणी र दिलजित दोसाँझजस्ता कलाकारले अभिनय गरेका छन्। तर अक्षकुमार र उनका सहकर्मीका लागि ‘गूड न्युज’बारे नराम्राे खबर आएको छ। यस फिल्मविरुद्ध हालै हाइ कोर्टमा उजुरी परेको छ।

टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार कर्नाटक हाई कोर्टमा ‘यस’ नामको एउटा गैर–सरकारी संस्थाले याे फिल्मविरुद्ध उजुरी गरेको हाे। एनजीओका अनुसार यो इन-भिट्रो-फर्टिलाइजेसन आईभीएफ-टेक्नोलोजी अर्थात् टेष्टट्युब गर्भाधान प्रक्रियामा आधारित फिल्म हो।

यस प्रविधि अनुसार जोडीको शुक्राणुहरूलाई प्रयोगशालामा राखेर बच्चा पैदा गरिन्छ। फिल्मले आईभीएफको विश्वसनीयताबारे धेरै भ्रम र अनिश्चितता पैदा गरेका कारण रिलिज गर्न नहुने एनजीओको तर्क छ। 

सन्तान नहुने आमाबुवाका लागि यसले भावनात्मक चोट पुर्‍याउने भएका कारण फिल्म रोकिनुपर्ने एनजीओले माग गरेको छ।