काठमाण्डौ / नेपाल आइडलको सिजन तीन सुरु भएलगत्तै यसअगाडि सक्किएको भ्वाइस अफ नेपाल सिजन २ मा असफल भएका प्रतियोगी पनि सहभागी भएका छन्। काठमाण्डौ र बुटवलबाट छानिएका प्रतियोगी निकै उत्साहित देखिएका छन्।

काठमाण्डौको पहिलो अडिसनमा आए, भ्वाइस अफ नेपाल २ मा असफल भएका सशस्त्रका प्रहरी निरीक्षक पृथ्वी खनाल। उनी दोस्रो अडिसनका लागि छानिए। संङ्गे शेर्पाको प्रस्तुति पनि राम्रै रहेको थियो।

शेर्पाले ‘झ्यालैमा बस्ने नक्कली मैयाँ’ बोलको गीत गाएका थिए। उनी पनि अडिसनमा पास भए। दुवै किड्नी फेल भएर उपचार गरेकी जलजला परियार पनि तेस्रो सिजनमा प्रतियोगीका रुपमा सहभागी भइन्। उनी पनि दोस्रो चरणमा छानिइन्।

समीर श्रेष्ठ अर्को चरणका लागि पास भए पनि पासाङ भने फेल भए। ‘ऊ जितेर गई या हारेर गई’ बोलको गीत गाएका विनोद तामाङ दोस्रो चरणका लागि छानिए। सबिर बस्नेत अनि पहिलो एपिसोडमा सहभागी सदीक्षा पनि दोस्रो चरणका लागि पास भइन्।

बर्दीमै स्टेजमा पुगे चौधरी

सशस्त्रका प्रहरीका रत्नदीप चौधरी प्रतियोगितामा गीत गाउन पोशाकै स्टेजमा आएका थिए। सांस्कृतिक बाद्यवादन गुल्म ६ मा कार्यरत उनलाई जज कालीप्रसाद बास्कोटाले स्यालुट गरेका थिए। ‘सपना भुलाई सारा’ बोलको गीत गाएका उनी दोस्रो चरणका लागि छानिए।

बुटवलको अडिसनबाट नमन गुरुङ, संगीता, भीम नेपाली दोस्रो एपिसोडमा पुगे। ‘बाख्रा घोर्ली बाख्रो खोई भन हौ झम्के गुलेली’ बोलको गीत गाएका सुजन घतानी भने पहिलो चरणबाटै बाहिरिए। अर्का प्रतिस्पर्धी भूपेन्द्र थापा छानिए।

इन्दिरालाई आई लभ यु

आफूलाई हिपहप गायक भनेर स्टेजमा चढेका सरोज कार्कीले कोच इन्दिरालाई नै हेरेर -याप गीत गाए। उनले इन्दिरालाई हेर्दै इन्दिराको वर्णन गरेका थिए।

‘तिम्रो रुपरंग देखेर परे म दंग’ भन्दै इन्दिरालाई इंगित गर्दा उनी मख्ख त पर्ने नै भइन ! कोच कालीप्रसादको हाँसो पनि रोकिएन। उनले एकैछिनमा बनाएको -यापमा कोच इन्दिरा छक्क परिन्।