भक्तपुर / शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी परीक्षणको काम शुरु गरेको छ। रत्नराज्य मावि बानेश्वर र टीका विद्याश्रम सानेपा गरी २ केन्द्र थपेर निमाविको कापी परीक्षण शुरु गरेको आयोगले जनाएको छ।

यस अघि गत पुस २ गतेबाट माध्यमिकको कापी परीक्षण शुरु गरिएको थियो। यसका लागि काठमाण्डौको कालिमाटि स्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी २ वटा केन्द्र तोकिएको थियो।

थपिएका २ केन्द्रमा ९० जना परीक्षक कापी परीक्षणमा संलग्न छन्। सबै केन्द्रमा गरी १ सय ८० जना परीक्षक सहभागि रहेको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिनुभयो। गत असोजमा लिईएको लाईसेन्स अन्तर्गत प्राविको कापी कोडिङ्को चरणमा रहेकाले केही दिन लाग्ने उहाँले बताउनुभयो।

प्राविको पनि जति सक्दो छिटो परीक्षण गर्ने गरी काम भईरहेको छ, अहिले कोडिङ्को काम जारी छ, यो सकिन २ दिन जती लाग्ला उहाँले भन्नुभयो त्यस पछि ओरेण्टेशन गरेर परीक्षण शुरु भई हाल्छ।

लाईसेन्स परीक्षा अन्तर्गत प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ। लामो समयको अन्तराल पछि खुलेको लाईसेन्स परीक्षा गत असोजमा भएको थियो। पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो।

लामो समय सम्म लाईसेन्सको परीक्षा नहुँदा शिक्षक हुन योग्यता पुरा गरेका पाँच लाख भन्दा धेरै विद्यार्थीले लाईसेन्स पाएका थिएनन्। माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापनमा आयोगले परीक्षा सञ्चालन गरेको थियो।