काठमाण्डौ / विश्वविद्यालय अनुदान आयोगले चार सामुदायिक क्याम्पसलाई संस्थागत गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्यूएए) प्रदान गरेको छ। विश्वविद्यालय अनुदान आयोगले ती क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गरेको हो।

नेपाल समाचारपत्रमा गुणस्तरमा अब्बल सामुदायिक क्याम्पस शिर्षकमा ईश्वरराज ढकालले लेखेको खबर अनुसार क्यूएए प्रमाणपत्र ललितपुर चापागाउँको जनभावना, काठमाण्डौ कुलेश्वरको जनमैत्री बहुमुखी, काभ्रे बनेपाको काभ्रे बहुमुखी क्याम्पस र महेन्द्रनगरको कञ्चन विद्या मन्दिरलाई दिइएको हो।

क्यूएएमा छनोट भएकामध्ये जनभावना चार वर्षअघि प्रक्रियामा गएको थियो। जनमैत्री नौ वर्षअघि प्रक्रियामा गएको थियो। उच्चशिक्षा परियोजना अन्तर्गत सञ्चालित सो कार्यक्रममार्फत क्यूएए प्रमाणपत्र पाएका क्याम्पसले विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा रकम पाउनेछन्।

एउटा विद्यार्थीले ग्र्याजुऐट भए पाँच वर्षभित्र ८० हजारका दरले कलेजले रकम पाउनेछन्। सो रकम क्याम्पसको भैतिक, शैक्षिक, प्रशासनिक, पाठ्यक्रम सुधारमा प्रयोग हुनेछ।

क्यूएए पाएका क्याम्पसले कार्यसम्पादनका आधारमा रकम पाउनेछन्। जनभावना विसं २०७२ र जनमैत्री विसं २०६७ सालमा क्यूएएको लागि प्रक्रियामा गएका थिए। क्यूएए परियोजना अन्तर्गत हालसम्म देशभरिका सरकारी, सामुदायिक तथा निजीस्तरका २९ वटा सामुदायिक क्याम्पसले प्रमाणपत्र पाइसकेका छन्।

तथ्याङ्कअनुसार सामुदायिक र निजी गरी १ हजार १ सय ६६, आंगिक ६० गरी कुल १ हजार २ सय २६ वटा क्याम्पस छन्। आयोगमा त्रिविबाट सम्बन्धन प्राप्त ४ सय ५० वटा क्याम्पस दर्ता छन्। अहिले ११ वटा विश्वविद्यालय छन्। तथ्याङ्कअनुसार ४ संस्थागत, ४ सम्बन्धन क्याम्पस र बाँकी त्रिविको सामुदायिक गरी ४० वटाले क्यूएए प्रमाणपत्र प्राप्त गरिसकेका छन्।

नेपालमा २०३९ सालबाटै सामुदायिक क्याम्पसहरू सञ्चालन गर्न थालिएको हो। त्रिविअन्तर्गत २९ क्याम्पसले प्रमाणपत्र पाइसकेका छन्। त्रिविबाहेक पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ६ र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत दुईवटा सामुदायिक क्याम्पस छन्।

आयोगले नेपालका उच्च शैक्षिक संस्थामा गुणस्तर कायम र सुधार प्रक्रिया गराई गुणस्तरको प्रमाण–पत्र प्रदान गर्न सहजीकरण गर्दै आएको छ। विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्चशिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ।

अनुदान आयोगले गुणस्तर सुनिश्चिता प्रत्यायन समितिको निर्णयपछि आयोगले चार सामुदायिक क्याम्पसलाई क्यूएए प्रमाणपत्र दिएको हो।

आयोगले सामुदायिक क्याम्पसहरूलाई नियमित अनुदान र भौतिक अनुदान दिँदै आएको छ। नियमित अनुदान क्याम्पसको उपलब्धिका आधारमा ३ लाखदेखि १२ लाख रुपियाँसम्म हुने गरेको छ। भौतिक अनुदानतर्फ भवनलगायत पुस्तकालय, उपकरण खरिद, इन्टरनेट जडान, फर्निचर खरिदजस्ता शीर्षकमा खर्च हुँदै आइरहेको छ।