काठमाण्डाै / शहीद स्मारक ए डिभिजन लिगमा साेमबार दुई खेल हुँदैछन। जसमा दुवै खेलमा ठूला क्लबबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन्। अर्को खेलमा थ्रीस्टार र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्।

साेमबार हुने लिगका दुवै खेल दशरथ रंगशालामा हुनेछन्। मनाङ र आर्मीबीचको खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ। लिगको पहिलो खेलमा मनाङले एपीएफलाई दुई-शून्यले हराएको थियो। यता आर्मीले फ्रेन्ड्स क्लबलाई दुई-एकले पराजित गरेको थियो। दुई उपाधिका दाबेदार क्लबबीचको खेलमा दुवै टिमको लक्ष्य जित नै रहेको छ।

यसपटक राष्ट्रिय खेलाडीबिना नै लिगमा उत्रिएको मनाङले पहिलो खेलमा दुई-शून्यको जित निकाले पनि सोचेको जस्तो खेल्न सकेको थिएन। यता आर्मीले मनाङसँग अंक लिने लक्ष्यमा छ। 

यस्तै रंगशालामा नै दिउँसो ३ बजे हुने पुलिस र थ्रीस्टारबीचको खेलमा दुवै टिमको लक्ष्य जित हुनेछ। दुवै टिम पहिलो जितेको खोजीमा हुनेछन्। यसअघि पहिलो चरणमा दुवै टिमले बराबरी खेलेका थिए।

थ्रीस्टार जाउलाखेलसँग गोलरहित बराबरी खेलेको थियो भने नेपाल पुलिस क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकेको थियो। यसपटक पुलिसको टिममा खासै स्टार खेलाडी रहेका छैनन्। जसका फाइदा थ्रीस्टार लिने लक्ष्यमा हुनेछन्।