काठमाण्डौ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबारदेखि दोस्रो चरणको खेल सुरु हुँदै छ। पहिलो चरणको समाप्तिसँगै एक दिन विश्रामपछि आजदेखि दोस्रो चरणको खेल सुरु हुन लागेको हो।

दोस्रो चरणको पहिलो दिन २ वटा खेल हुँदैछन्। मध्याह्न १२ बजे एन्फा मैदान सातदोबाटोमा मच्छिन्द्र क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। 

मच्छिन्द्रले पहिलो खेलमा बिग्रड ब्वाइजमाथि जित निकालेको थियो। तर गत वर्षकै अंक तिर्न बाँकी रहेकाले तालिकामा मच्छिन्द्रको २ अंक छ। 

मच्छिन्द्रमा गत सिजनमा मनाङ मर्स्याङ्दीलाई लिग च्याम्पियन बनाउँदाका खेलाडीहरुको बाहुल्यता रहेको छ। मच्छिन्द्र र च्यासल दुवै टिम जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छन्।

मच्छिन्द्र विराज महर्जनको कप्तानीमा खेल्दै छ भने च्यासल सन्तोष साहुखलको कप्तानीमा छ। 

त्यस्तै दिउँसो ३ बजे दशरथ रंगशालामा हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन्। दुवै टिमले पहिलो चरणमा पराजय भोगेकाले आज स्पष्ट जितका साथ तीन अंक जोड्ने प्रयासमा हुने छन्।