एजेन्सी / अमेरिकाबाट प्रकाशित ओके नामक म्यागजिनले बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनसको सम्बन्धमा दरार आएको समाचार लेखेको छ। समाचारका अनुसार तीन महिनाअघि मात्र बिहे गरेका निक–प्रियंकाले डिभोर्स गर्ने तयारीमा छन्।

सो म्यागेजिनले लेखेको छ, ‘उनीहरुबीच छोटो समयमा नै एकअर्काप्रति वितृष्णा उत्पन्न भएको छ, दुवै डिभोर्स गर्ने सहमतिमा पुगिसकेका छन्।’ निक जोनस र प्रिंयका चोपडाले तीन महिनाअघि धुमधाम बिहे गरेका थिए। प्रियंकाभन्दा १० वर्ष कान्छा जोनस व्यवहारिक भएको तर प्रियंका भने ‘केटाकेटी’जस्तो भएको समाचारले लेखेको छ।

समाचारमा उल्लेख छ, ‘उनीहरु हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, उनीहरुले हतारमा बिहेको निर्णय लिइरहेका थिए, अहिले पछुताइरहेका छन्, दुवैको वैवाहिक सम्बन्ध एउटा परालको त्यान्द्रोमा अल्झिएको छ।’

समाचारलाई आधार मान्ने हो भने निकको परिवारले पनि प्रियंकालाई छिटो सम्बन्ध तोड्न दबाब दिइरहेको छ। समाचारका अनुसार निकले बिहेअघि प्रियंकालाई सरल र कुल केटीका रुपमा लिएका थिए। तर, अहिले व्यवहार बदलिएको छ। प्रियंकाले निकलाई आफ्नो नियन्त्रणमा राख्न खोजिरहेकी छिन्।

यो जोडीले हिन्दू र क्रिस्चियन धर्म अनुसरण गर्दै दुवै धर्मअनुसार बिहे गरेका थिए। समाचारलाई ओके म्यागजिनले आफ्नो कभर स्टोरी बनाएर छापेको छ। प्रियंकाको परिवारले भने समाचारलाई हावादारी भएको टिप्पणी गरेको छ।