काठमाण्डौ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बुधबार पहिलो चरणको खेल सकिदैँछ। गएको शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा उद्घाटन भएको लिग फुटबलमा बुधबार हुने २ खेलसँगै पहिलो चरणको खेल सकिने छ। 

एन्फा मैदान सातदोबाटोमा मध्याह्न साढे १२ बजे रुस्लान थ्रीस्टार र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्। दुवै टिमले स्पष्ट तीन अंकको खोजीमा मैदान उत्रनेछन्। 

यसैगरी दिउँसो साढे २ बजे दशरथ रंगशालामा विभागीय क्लब एपीएफ र गएको संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन्। 

मंगलबार भएको खेलमा एनआरटीले सरस्वती युवा क्लबमाथि ४–० गोल अन्तरको जित दर्ता गर्दा हिमालयन शेर्पा र नेपाल पुलिस भने गोलरहित बराबरीमा रोकिएका थिए।