काठमाण्डौ / चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ। ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र म:म बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ले  बताए।

आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनको भनाइ छ। ‘अहिले एउटा ठेला छ। फलफूल र पानी राखेका छौं,’ धर्मुसले भने, ‘अर्को एउटा ठेला थप्दै छौं। त्यसमा सुन्तलीले म:म बेच्नेछिन्।’

ठेला पसलको व्यवस्थापन अर्जुन भुसालले गर्नेछन्। कतारबाट फर्केका चितवनका विनोद रानाभाटले ठेला पसलमा फलफूल र पानी बिक्री गर्छन्।

‘रंगशाला-ठेला कन्सेप्टले रंगशाला निर्माणका काम अवलोकन गर्न आउनेहरूलाई पनि सहयोग गर्छ। कसैलाई भोक लागेको हुन्छ। कोही तिर्खाएका हुन्छन्,’ उनले भने, ‘ठेलाका सामान बिक्री गरेर संकलित पैसा रंगशाला निर्माणमै खर्च हुन्छ।’

ठेलाबाट धेरै पैसा संकलन हुने अपेक्षा भने धुर्मुसलाई छैन। यो एउटा सन्देश फैलाउन महत्वपूर्ण हुने उनले बताए। ‘मूलभुत कुरा सन्देश फैलियोस् भन्ने हो,’ उनले भने, ‘दाजुभाइ-दिदीबहिनीहरूकै सहयोगमा हामी रंगशाला बनाउँदैछौं। उहाँहरूले रंगशालालाई अपनत्व लिनुहुनेछ।’

रंगशालानजिकै भ्यूटावरछेउ ठेला पसल राखिएको उनले जानकारी दिए। रंगशाला निर्माणको काम धमाधम अघि बढेको उनले बताए। ‘दुई सय १३ जना कामदारले काम गरिराखेका छन्,’ उनले भने।

गत वर्ष माघमा धुर्मुस-सुन्तली फाउन्डेसनले रंगशाला निर्माण घोषणा गरेको थियो। भरतपुर महानगरको रामपुरस्थित कृषि, वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको २० विघा क्षेत्रफलमा रंगशाला निर्माण सुरू गरिएको हो।

यो रंगशाला बनाउन करिब तीन अर्ब खर्च लाग्ने बताइएको छ। यहाँ २५ हजारभन्दा धेरै दर्शकले खेल हेर्न सक्नेछन्। क्रिकेट मैदानबाहेक फुटबललगायत अन्य रंगशाला पनि यही परिसरभित्र बन्नेछ।

रंगशाला बनाउन भरतपुर महानगरले २९ वडाबाट पाँच लाखका दरले बजेट विनियोजन गरेर एक करोड ४५ लाख र महानगरबाट पाँच करोड गरी छ करोड ४५ लाख बजेट दिएको छ।

रंगशाला बनाउन जनस्तरबाट पनि पैसा संकलन भइराखेको छ।