लण्डन / विश्व सुन्दरी २०१९ को ताज जमाइकाकी २३ वर्षीया टोनीआन सिंहले जितेकी छिन्। शनिबार लण्डनमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा उनी ६९ औं विश्व सुन्दरीको ताज जित्न सफल भएकी हुन्।

त्यस्तै, फ्रान्सकी ओपेली मेजिनो र भारतकी सुमन राओ क्रमश पहिलो तथा दोस्रो रनर अप बने। महादेशअन्तर्गत एशियामा भारतकी सुमन राओ, अफ्रिकामा नाइजेरियाकी नेइकाची डगलास, अमेरिकामा ब्राजिलकी एलिस कोएल्हो, क्यारेबियनमा ट्रिनिडाड एण्ड टोबागोकी जोइलिन कनवे, युरोपमा फ्रान्सकी ओपेली मेजिनो र ओसेनियामा कुक आइल्याण्ड्सकी ताजिया साहय विजेता घोषित भएका छन्।

मिस नेपाल अनुष्का श्रेष्ठ भने शीर्ष १२ सम्म पुग्न सफल भएकी छन्। उनले प्रतियोगिताका २ महत्वपुर्ण ब्युटी विथ प्रपोज अवार्ड र मल्टिमिडिया अवार्ड जितिन्।

anushka-shrestha-2019 संसारभरबाट लण्डनमा जम्मा भएका सुन्दरीहरुबीच केहि साताअघि देखि नै विभिन्न चरणमा प्रतिस्पर्धाहरु गराइएको थियो। जसअन्तर्गत हेड टु हेड, ट्यालेन्ट, मल्टिमिडिया, ब्युटी विथ प्रपोज, टप मोडल, स्पोर्टस् लगायतका विधामा उत्कृष्ट हुनेहरु सहित शीर्ष ४० छनौट भएका थिए। उनीहरुमध्येबाट सेमिफाइनलका लागि १२ प्रतियोगीहरु छानिएका थिए भने फाइनलका लागि शीर्ष ५ चयन गरिएको थियो।

फाइनल राउण्डमा जमाइका, फ्रान्स र भारतसंगै नाइजेरिया र ब्राजिलका प्रतियोगीहरु पुगेका थिए। विजेता टोनीले आफ्नो सुमधर गायनमार्फत प्रतियोगिताको ट्यालेन्ट राउन्ड समेत जितेकी थिइन्।

miss world विश्व सुन्दरीको उपाधि जितेपछि उनले आफ्नो सफलतामा विश्वास नलागेको प्रतिक्रिया दिएकी थिइन्। आफुमाथि सबैले गरेको विश्वासको लागि धन्यवाद दिंदै उनले आफ्नो कर्तव्य निभाउने प्रतिबद्धता गरिन्।

प्रतियोगिताको फाइनलमा मिस नेपाल अनुष्काको समर्थनका लागि उनका आमाबाबुको साथै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङसहित बेलायतबासी दर्जनौं नेपालीहरु पुगेका थिए।