धादिङ / धादिङका एक युवकले बिवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते धादिङ सिद्धलेक गाउँपालिका ३ का २३ वर्षीय अर्जुन थामा मगरले २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका थिए।

मकवानपुरकी अनिशालाई बिहे गरेको भालिपल्टै हत्या गरी शौचालयको सेफ्टिक ट्यांकीमा लुकाएको खुलेको हो। शव लुकाउन अर्जुनका काका छवि थापा मगर र आफन्त इन्द्रबहादुर थापाले सघाएको प्रहरीको भनाइ छ।

मंसिर १० गते दिउँसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान घरमा नदेखेपछि अर्जुनलाई सोधखोज गरेका थिए। उनले माइतीघर गएको भनि टारेका थिए। केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’ अर्जुन र उनका केही आफन्तले गोरु मरेको जवाफ दिए।

वरिपरी कसैको गाईगोरु नमरेको र अनिशाा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे। गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरे। प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट राति नै घाँटी थिचेर हत्या गरेका हुन्।