काठमाण्डौ / भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्न जानुअघि डान्सबार र डिस्को गएर अनुशासनको कारवाहीमा परेका चर्चित फुटबलर विमल घर्तीमगरसहित चार खेलाडीले शहिद स्मारक ‘ए’ डिभिजन लिग पनि खेल्न नपाउने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीमाथि छानबिन भइरहेकोले तत्काल कुनैपनि प्रतियोगिता खेल्न नपाउने बताए। ‘यस विषयमा छानबिन समितिले अनुसन्धान गरिरहेको छ। समितिको निर्णय नआएसम्म लिग खेल्न पाउने कुरै छैन,’ शेर्पाले भने। एन्फाले लिगमा हुने खेल मिलेमतो र अनुशासनहिनता जस्ता गतिविधिलाई रोक्न छुट्टै संयन्त्र बनाउन लागेको पनि शेर्पाले बताए। साढे ६ करोड लगानीको महत्वकाङ्क्षी ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ।

विश्वकप छनोट र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका विमलसहित अन्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी राति क्याम्पबाट भागेर ठमेल र दरबारमार्गका विभिन्न डान्सबार र डिस्को पुगेका थिए।

डान्सबार गएर झगडा गरेको खुलेपछि यी खेलाडीलाई एन्फाले तत्काल बर्खास्त गरेको थियो। विश्वकप छनोटसँगै साग फुटबल खेल्न नपाएका यी खेलाडीले लिगपनि गुमाउने भएका छन्।

यी खेलाडीबिनै नेपालले भर्खर फाइनलमा भुटानलाई २–१ गोलले हराएर साग फुटबलको स्वर्ण जितेको थियो। नेपालले लिग चरणदेखि अपराजित रहँदै उपाधि जितेको हो।