फाइल तस्विर

काठमाण्डौ / नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा माली माल्दिभ्सको लिग खेल्ने भएकी छिन्।

यसअघि २ संस्करण त्यो प्रतियोगिता खेलिसकेकी मालीले यसपटक माल्दिभ्सको पुलिस टिमबाट खेल्ने पक्का भएको हो। माल्दिभ्स लिगबारे प्रतिक्रिया दिँदै मालीले यस्ता लिगहरुले नेपाली खेलाडीलाई ठूलो एक्सपोजर मिल्ने बताइन्।

माल्दिभ्सको लिगमा अरु टिमहरुले पनि विदेशी खेलाडी राख्न पाउने भएकाले आफू यही कोटामा परेको बताउँदै यो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न सके अरु ठाउँमा पनि मौका पाइने विश्वास व्यक्त गरिन्।

प्रतिभाको उत्कृष्ट प्रदर्शनका कारण बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको थियो। यस्तै काठमाण्डौमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपालले ऐतिहासिक रजत पदक जित्दा प्रतिभाको प्रदर्शन उत्कृष्ट नै रहेको थियो।

माल्दिभ्सको लिगमा उत्कृष्ट खेलाडीहरुको जमघट हुने भएकाले पनि आफू त्यसबाट उत्साहित भएको प्रतिक्रिया दिइन्। ‘एसियामा इरानका भलिबल खेलाडीहरु उत्कृष्ट मानिन्छन्। गत वर्ष त्यहाँका खेलाडीहरुसँग मेरो प्रतिस्पर्धा थियो यस पटक हेरौं कस्तो प्रदर्शन गर्छु, संक्षिप्त कुराकानीमा उनले भनिन्।