काठमाण्डौ / १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई शुक्रबार नगर परिक्रमा गराइँदै छ। 

मंगलबार काठमाण्डौ, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कांस्यसहित २ सय ६ पदक जितेको छ।

पदक विजेता खेलाडीहरुलाई आज बिहान ११ बजे त्रिपुरेश्वरको दशरथ रंगशालाबाट नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए। 

त्रिपुरेश्वरबाट सुरु हुने परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक पुग्नेछ। 

पुनः सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रमा टुंगिने छ।