काठमाण्डौ / शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्ने टिमले ५० लाख रुपैँया पुरस्कार पाउने भएको छ।

यो रकम गर्त वर्षकै बराबर हो। दोस्रो हुनेले ३५ लाख रुपैँया, तेस्रोलाई २५ लाख रुपैँया, चौथोलाई १५ रुपैँया, पाँचौ‌ँलाई ७ लाख रुपैँया र छैटौं स्थानमा रहने टिमले ५ लाख रुपैँया पुरस्कार पाउने छ। शनिबारदेखि काठमाण्डौमा सुरु हुन लागेको ए डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन्। ए डिभिजन लिगमा यस पटक अन्तर्राष्ट्रिय ब्राण्ड कतार एअरवेजले प्रायोजन गर्ने भएको छ।

ए डिभिजन लिग सञ्चालन गर्नका लागि ६ करोड ३० लाख रुपैँया लाग्ने अनुमान गरिएको छ भने सबै १३ टिमले तयारीबापत २०-२० लाख रुपैँया पाउने भएका छन्। यसैगरी प्रतियोगितका हरेक खेलमा विजयी हुने टिमलाई म्याच मनीबापत ५० हजार रुपैँया प्रदान गर्ने र खेल बराबरीमा सकिए दुवै टिमलाई १५-१५ हजार प्रदान गरिने छ।

कतार एअरवेजले प्रायोजनबापत अखिल नेपाल फुटबल संघ एन्फालाई दुई किस्तामा गरी १ लाख ५० हजार अमेरिकी डलर(झण्डै १ करोड ७० लाख रुपैँया) प्रदान गर्ने छ।

प्रत्येक खेलको म्यान अफ् द म्याच पाउनेले १० हजार रुपैँया पाउने छ भने अन्तिमा पाँच उत्कृष्ट विधाका खेलाडीलाई नगद १ लाख ५० हजार रुपैँया प्रदान गरिने एन्फाका महासचिव ईन्द्रमान तुलाधरले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

यसैगरी एन्फाले दशरथ रंगशालाको खेलका लागि टिकट दर पनि तय गरेको छ। साधारणतर्फ २ सय रुपैँया तय गरिएकोमा भीआईपी तर्फका प्यारापिटको टिकट मूल्य भने ५ सय रुपैँया तय गरेको छ। टिकटबाट १ करोड संकलन हुने एन्फाले अपेक्षा गरेको छ। ए डिभिजन लिग शनिबारदेखि दशरथ रंगशालामा सुरु हुने छ।