काठमाण्डाै / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय शिक्षा नीति र शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी जानकारी गराएको हो।

मन्त्रालयले देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १ सय ७६, निम्न माध्यमिक तर्फको दरबन्दी १६ हजार २ सय ४४ र माध्यमिक तर्फको १२ हजार ७ सय २५ कायम गरेको छ। त्यस्तै साविकको उच्च माध्यमिक तर्फको दरबन्दी २ हजार तोकेको छ।

त्यस्तै प्राथमिक तर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिक तर्फको राहत कोटा ९ हजार ६ सय ९ र माध्यमिक तर्फको राहत अनुदान कोटा ६ हजार ८ सय ९८ छुट्याइएको छ। त्यस्तै उच्च माध्यमिक तर्फको राहत अनुदान कोटा ४ हजार पुर्‍याइएको मन्त्रालयले जनाएकाे छ। त्यस्तै १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुनेछन् 

यस्तै १४ जिल्लाको ३ हजार ३ सय ५९ दरबन्दी, १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को तहमा १ हजार ४ सय ९३ मिलान हुनेछ। स्थानीय तहभित्रको शिक्षकहरुको राहत तथा अनुदानको कोटाको मिलान भने सम्बन्धित स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ।

यस्तै मन्त्रालयले राष्ट्रिय शिक्षा नीतिको किताब पनि सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको दूरदृष्टि, लक्ष्य, उद्देश्य र रणनीतिहरुको परिधिभित्र रहेर राष्ट्रिय शिक्षा नीति ल्याइएको बताउनुभयो। 

संघीय, प्रदेश र स्थानीय तहको जिम्मेवारीका विषयमा समेत शिक्षा नीतिमा उल्लेख गरिएको छ। शिक्षा नीतिमा संघीय प्रदेश र स्थनीय सरकारले पनि आफ्नो स्रोत व्यवस्था गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै शिक्षा क्षेत्रमा आउने वैदेशिक सहायताको परिचालन एकद्धार प्रणालीबाट गर्ने समेत उल्लेख गरिएको छ।त्यस्तै ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ को कार्यान्वयनको समग्र स्थितिको वार्षिक तथा आवधिक मूल्याङ्कन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेछ।