काठमाण्डौ / १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा भुटान स्वर्ण पदकबिहीन बनेको छ। उसले ७ वटा रजत र १३ वटा कास्य पदकमात्रै जितेको छ।

१० दिनसम्म चलेर मंगलबार सम्पन्न सागको अन्तिम नतिजाअनुसार माल्दिभ्स एकमात्रै स्वर्ण जितेर दै छैटौँ बनेको छ। यस्तै उसले ४ कांस्य जितेको छ। समग्रमा सागमा दक्षिण एसियाली सदस्य राष्ट्रका देश भुटान र माल्दिभ्स कमजोर देखिएका छन्।

यस्तै भारत भने सर्वाधिक १७४ स्वर्ण जित्दै पहिलो बन्न सफल बनेको छ। उसले ९३ रजत र ४५ कांस्य पनि जितेको छ।

यसैगरी दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जितेको छ। सागको ३५ वर्षे इतिहासमा नेपालले ऐतिहासिक नतिजा निकालेको हो।

यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य जितेको छ भने चौथो स्थानमा रहेको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य जितेको छ।

यसैगरी पाँचौ स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य जितेको छ।

१४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा गर्ने तय भएको छ।